पोखरामा बेच्न राखिएका भेडाच्याङ्ग्रामा पीपीआर, हेर्नुहोस् बिरामी भेडाच्याङ्ग्रा कसरी चिन्ने

पोखरा महानगरपालिका र पशु प्राविधिकहरुको संयुक्त अनुगमनमा पोखरामा बेच्न राखिएका केही भेडाच्याङ्ग्रामा पीपीआर नामक रोग देखिएको छ ।

पोखराको याम्दीमा बेच्नका लागि मुस्ताङदेखि बाजुरा, बझाङ, दार्चुला, डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याइएको छ । प्राविधिकहरुले ति भेडाच्याङ्ग्रामा स्वास्थ्य जाँच गरेका उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव भरतराज पौडेलले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा केही भेडाच्याङ्ग्रा अस्वस्थ भेटिएको छ ।

‘अस्वस्थ भेडाच्याङ्ग्रा नबेच्नु भनेर निर्देशन दिएका छौं । केही बाहेक सबै स्वस्थ छन्, खानका लागि उपयुक्त छन्,’ उनले भने । समितिले १५ वटा भेडाच्याङ्ग्राको नमुना परीक्षण गरेकोमा स्वस्थ भेटिएको छ । पशु प्राविधिकहरुले गरेको परीक्षणमा केही भेडाच्याङ्ग्रामा भने पीपीआर देखिएको थियो ।

पशु प्राविधिक ढाकाराम पौडेलका अनुसार १५ वटा परीक्षण गर्दा एउटामा पीपीआर देखिएको छ । ‘आँखामा चिप्रा, नाकमा सिगान नभएको र नछेरेको हेरेर किन्नुहोला,’ उनले उपभोक्तालाई भने, ‘यो रोग मान्छेलाई त सर्दैन । तर स्वस्थ नै छान्नुपर्छ । हाम्रो चिन्ता यो रोग गाउँतिर नपुगोस् भन्ने हो ।’

तिब्बतबाट ल्याउन नसक्दा यसपालि भेडाच्याङ्ग्राको मूल्य अत्यधिक बढेको छ । वैज्ञानिक मूल्य निर्धारण गर्न सकेको भए उपभोक्तालाई मर्का नपर्ने उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले बताए । ‘व्यवसायीलाई जति मन लाग्यो उति मुल्य पर्छ । यसको निर्धारण गर्ने एउटा विधि बनाइनुपर्छ,’ उनले भने, ‘सरोकारवाला निकायले भेडाच्याङ्ग्राको मुल्य निर्धारण गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button