अविरल वर्षाले बेनी-जोमसोम सडक अवरुद्ध, पर्यटक अलपत्र

गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका छन् ।

तीन दिनदेखिको अविरल वर्षाले दसैँको टीका लगाउन र आशीर्वाद लिन आफन्तकोमा जाने आउने सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । यातायातका साधन सञ्चालन हुन नसकेपछि पैदलै छाता र प्लाष्टिक ओडेर सर्वसाधारण टीका लगाउन आफन्तकोमा जाने आउने गरेका छन् ।

वर्षाका कारण बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ भने बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौरलगायत दर्जन बढी सडक बाढी र पहिराका कारण अवरुद्ध भएका सम्वन्धित स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । कतिपय स्थानमा सडक भासिएको छ ।

दसैँको दुईदिन अघिदेखि भइरहेको अविरल वर्षा नरोकिँदा दसैँ खल्लो भएको छ भने म्याग्दी र कालीगण्डकी नदीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाएका छन् । खहरे र ग्रामीण क्षेत्रका खोलामा बाढी आएको छ । ठाउँठाउँमा पहिरो जाँदा पदमार्गसमेत अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका बासिन्दाले सास्ती खेप्न बाध्य हुनुपरेको बेनी नगरपालिका ३ का सोमबहादुर पुनले बताउनुभयो ।

त्यसैगरी राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार म्याग्दीको घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भिर, जलथले, गुइठे भिर, रुप्से झरना र काभ्रेभिरलगायतको सडकमा वर्षाले सडक अवरुद्ध बनाएको छ । सडक अवरुद्ध भएपछि बेनीबाट मुस्ताङ तथा उत्तरी म्याग्दीमा जाने यात्रु तथा सर्वसाधारण बेनीमा र मुस्ताङबाट बेनी फर्कने व्यक्ति मुस्ताङमा नै रोकिन बाध्य भएका छन् ।

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पूरै हिलाम्मे भएको छ भने कतिपय स्थानमा सडक ध्वस्त भएको सुपरभाइजर शेरचनले जानकारी दिनुभयो । बेनी–जोमसोम सडक खण्डको शाखा नदीको बहाव उच्च हुँदा केही स्थानमा सडक पूरै बगाएको छ भने कतिपय स्थानमा पहिरो खस्ने क्रम अझै रोकिएको छैन ।

दसैँका बेलामा अविरल वर्षाले सडक अवरुद्ध हुँदा दसैँ पर्व मनाउन हिँडेका सर्वसाधारण तथा मुस्ताङ भ्रमण गर्न आएका पर्यटक बीच सडकमै अलपत्र परेको सडक कार्यालयका सुपरभाइजर शेरचनले बताउनुभयो । यता बेनी–मालढुङ्गा–पोखरा सडक पनि बीचबीचमा अवरुद्ध भएको छ ।

पश्चिम म्याग्दीको दरबाङदेखि ग्रामीण भेगमा चल्ने सवारी साधन चल्न सकेका छैनन् भने खोला बढ्नुका साथै ठाउँ ठाउँमा पहिरो गएपछि मानिस पैदल हिँडेर गन्तव्यसम्म पुग्नसक्ने अवस्थासमेत नरहेको स्थानीयवासीले बताए ।

guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button