गण्डक ब्यारेजका २२ ढोका खोलिए, चेतावनीको सतह पार

लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ ।

पछिल्लो मापन अनुसार नारायणी नदीमा पानीको सतह १०.६२ मिटर मापन गरिएको छ भने त्रिवेणीमा २,८०,००० क्यूसेक मापन गरिएको छ । गण्डक ब्यारेजमा दुई लाख ५० हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ । त्यस्तै नारायणी नदीमा बहाव ११ मिटर कटेपछि जोखिमको स्तर उच्च भएको मानिन्छ ।

रातिदेखि नै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानाले जानकारी दिनुभयो । लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्दा यसले क्षति पुर्याउन सक्ने भएकाले ब्यारेजका २२ वटा ढोका खोलिएको हो ।

गैंडाकोट, त्रिवेणी र कोल्हुवाको भेगमा सचेत रहन माइकिङ गरिएको छ भने प्रहरी कार्यालयहरुले स्थानीय प्रशासन, स्थानीय तह एवम् रेडक्रस सोसाईटीहरुसँग समन्वय गरिरहेको छ । कालीगण्डकी करिडोरको फुलमती खोला नजिक पहिरो गएर बाटो दुईतर्फी नै बन्द भएको छ ।

गण्डक ब्यारेजमा पानीका सतह बढ्दो क्रममा रहेको र हुनसक्ने जोखिमीलाई मध्यनजर गरी आफूहरुले समन्वय गरिरहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो । गण्डक ब्यारेजमा नारायणी नदीको जलसतह हेरेर आवश्यकताअनुसार ढोका खोल्ने काम हुने उहाँको भनाइ थियो ।

पानी पर्ने क्रम जारी रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रुपमा रहनसमेत उहाँले आग्रह गर्नुभयो । बाढी सूचना केन्द्रले नारायणी नदीको जलाधार क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान गदैै नवलपरासी र चितवनका तटीय क्षेत्रमा हुने आज साँझसम्म सतर्कता साथ सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button