असोजमै हिमपातले सेताम्मे मनाङ, हेर्नुहोस् तस्वीरहरु

हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाका ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका क्षेत्रमा आज बिहानैबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् ।

मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबारबाट हिउँ पर्न थालेको बताएका छन् । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार तीन दिनदेखि निरन्तर परेको वर्षाले हिउँ पर्न थालेको छ । “चिसो बढेको छ । हिउँले डाँडाकाँडा सेताम्मे भएको छ । पानी पनि परिरहेको छ ।”, घलेले बताए ।

जिल्लाका माथिल्ला भेगमा भने दुई दिन अघिबाटै हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ । मनाङमा सन् २०१४ को अक्टोबर २० मा परेको थियो । त्यसपछि अक्टोबर २० भन्दा अघि हिउँ परेको थिएन ।

यस वर्ष भने अक्टोबर ६ मै हिउँ परेको हो । हिउँ पर्न थालेपछि चिसो बढेको स्थानीयले बताएका छन् । हिउँले वस्ती माथिका डाँडाहरु सेताम्मे भएको छ । हिमपातका कारण बिजुली बन्द भएको छ भने इन्टरनेट प्रभावित छ । मोबाइल नेटवर्कमा पनि समस्या भएको स्थानीयले बताएका छन् ।

मनाङमा गतवर्ष मंसिर १६ गतेबाट मात्रै हिउँ पर्न सुरु भएको थियो । यस पालि भने २ महिना अघि देखि नै हिमपात भएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार केही दिनदेखि लगातार भइरहेको मनसुनी प्रभावका कारण भारी वर्षा भएको थियो ।

उनका अनुसार निरन्तर हिमपात भइरहेकाले नागरिकलाई सचेत रहन भनिएको छ । हिमपात बढ्न सक्ने भएकाले घरभित्रै बस्न, न्यानो कपडा लगाउन, आगो तापेर बस्न अनुरोध गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button