दशैँ बिदाका कारण मुग्लिन-पोखरा सडक विस्तारको काम ठप्प

दशैँ बिदाका कारण मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा काम रोकिएको छ । सडकखण्ड विस्तार योजनाका लागि खटिएका कामदार दशैँ बिदाका कारण घर गएकाले काम रोकिएको हो ।

मुग्लिन पोखरा सडक विस्तार योजना पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीका अनुसार फूलपातीदेखि मजदुरलाई बिदा दिइएको छ । “दशैँ अवधिभर सडक विस्तारको काम हुँदैन, कामदार फर्किएपछि सम्भवत पूर्णिमापछि कामलाई पुनः सञ्चालन गरिनेछ,” सुवेदीले भन्नुभयो । सडक विस्तार योजनाको काम ढिला भएकाले अब तीव्र गतिमा सञ्चालन गरिने उहाँले बताउनुभयो ।

दसैँमा सर्वसाधारणलाई यात्रा गर्न सहज होस् भन्नका लागि साना–साना खाल्डाखुल्डी मर्मतको काम गरिएको उहाँले बताउनुभयो । यद्यपि, अन्तिम समयसम्म काम भएका ठाउँका ठूला खाल्डा भने मर्मत गर्न नसकिएको उहाँले बताउनुभयो । पृथ्वी राजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिएपनि तनहुँ खण्डमा भौतिक प्रगति भने न्यून छ ।

मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरेर काम गरिएको छ । पूर्वी खण्ड अन्तर्गत मुग्लिनदेखि जामुनेसम्मको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पश्चिम खण्ड अन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो ।

मुग्लिन पोखरा सडक योजना (पूर्वी) खण्डमा हालसम्म तनि दशमलव ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । आर्थिक वर्ष ०७८/७९ मा पूर्वी खण्डका लागि रु दुई अर्ब ५१ करोड ८८ लाख आठ हजार विनियोजन गरिएको थियो । तर यस अवधिमा रु ५७ करोड ३७ लाख चार हजार मात्रै खर्च भएको छ । कूल विनियोजितमध्ये ७७ प्रतिशत बजेट खर्च हुन नसकेको सुवेदीले बताउनुभयो ।

योजनाको पश्चिम खण्डतर्फ पाँच प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । वित्तीय प्रगति भने २३ प्रतिशत रहेको योजनाका इन्जिनियर नारायण पौडेलले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७८/७९ मा यो खण्डका लागि रु एक अर्ब ९१ करोड ९५ लाख १८ हजार विनियोजन भएकामा रु ४४ करोड ३६ लाख ४६ हजार खर्च भएको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाईको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौंडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाई ४६ मिटरको हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button