
अविरल वर्षाले जुम्लामा पाक्नै लागेको मार्सी धानबालीका फाँटमा ठूलो क्षति पुगेको छ । एक सातादेखि परेको अविरल वर्षाले धानबालीमा क्षति हुँदा किसान मर्कामा परेका छन् ।
जिल्लाभरका किसानको धानबाली, सिमीलगायतका बालीमा पुर्याएको क्षतिको विवरण सङ्कलन गर्न स्थानीय तहका कृषि शाखासँगको सहकार्यमा कृषि विकास कार्यालयले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए ।
वर्षाले खेतमा पाक्नै लागेको धान ढालेपछि किसान चिन्तित छन् । भित्र्याउने बेलाको धानबाली ढलेर खेतमै दाना झरेको छ । पाकेको बाली घर भित्र्याउने समयमा वर्षाले क्षति गरेपछि यहाँका किसानलाई वर्षभरि पुग्ने अन्न संकट हुने स्थानीय जयशंखर धितालले बताए । उनले भने, ‘हाम्रो १४ भारी मार्सी धानसहित खेत बगाएको छ ।’
धेरैजसो सिञ्जा क्षेत्रमा धानबालीमा क्षति गरेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने, ‘पालिकाको धान उत्पादन हुने ठाउँका सबै खेतबारी बगरमा परिणत भएको छ ।’ यस्तै, तिला गाउँपालिकाको नुवाकोट, कुडारी र सापुल्ली क्षेत्रका खेतबारीमा लगाएको धानबाली पूर्णरुपमा क्षति गरेको पुगेको छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार जुम्लामा दुई हजार नौ सय ५० हेक्टरमा धानखेती गरिएको छ । जिल्लाका आठवटै स्थानीय तहमा धानखेती हुन्छ । कृषि बालीमा भएको क्षेतीको एकिन विवरण संकलन गर्न जिल्ला प्रशासनले सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।