
गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार पोखरामा भएको साइक्लिङको डाउनहिल विधामा पुरुष र महिला दुवै तर्फ नेपाल आर्मीका खेलाडी विजेता बनेका छन् ।
पुरुषतर्फ नेपाल आर्मीका राजेश मगरले १४ सय मिटरको दुरी रहेको डाउनहिल १ मिनेट ४९.१० सेकेण्डमा पुरा गर्दै विजेता बन्दै स्वर्ण पदक जितेका छन् । त्यस्तै बाग्मती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० सेकेण्डमा दुरी पुरा गर्दै रजत र एपिएफका प्रचित थापा मगरले १ मिनेट ५५.६९ सेकेण्डमा उक्त दुरी पुरा गरि काँस्य पदक जित्न सफल भएका छन् ।
यता महिलातर्फ पनि सोही दुरी नेपाल आर्मीकी निस्मा श्रेष्ठले २ मिनेट २३.५८ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेकी छिन् । रजत पदक पनि नेपाल आर्मीकै उसा खनालले जित्न सफल भइन् । खनालले २ मिनेट ३७.४५ सेकेण्डमा दुरी पुरा गरेकी थिइन् । त्यस्तै २ मिनेट ४०.०९ सेकेण्डमा दुरी पुरा गर्दै गण्डकी प्रदेशकी जमुना थापाले काँस्य पदक जित्न सफल भइन् ।
अन्तिम नतिजा अनुसार साइक्लिङको डाउनहिल विधामा नेपाल आर्मीले २ स्वर्ण, बागमती प्रदेश र नेपाल आर्मीले १-१ रजत त्यस्तै गण्डकी प्रदेश र एफिएफले १-१ काँस्य पदक जित्न सफल भए । सात प्रदेश र तीन विभागीय गरि दश क्षेत्रबाट प्रतिस्पर्धा रहने साइक्लिङमा डाउन हिलसहित क्रस कन्ट्री, रोड रेस इन्डीभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधा रहेका छन् ।
भोलि (आइतबार) पोखराको ड्यामसाइड नजिक रानीवनको ट्रयाकमा क्रस कन्ट्री विधाको प्रतिस्पर्धा हुनेछ ।





