आर्चरीमा गण्डकी अगाडि, पुरुषतर्फ दुर्गा र महिलातर्फ अनुस्काको अग्रता

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आर्चरी खेलतर्फ गण्डकीका खेलाडी अगाडि देखिएका छन् ।

शनिबारदेखि सुरु आर्चरीमा पहिलो दिन स्टान्डर्ड (३० मिटर) विधामा पुरुषतर्फ गण्डकीका दुर्गा घर्ती मगर र महिलातर्फ अनुस्का शेरचन उच्च स्कोरका साथ पहिलो वरियतामा रहे । र्याङ्किङ राउण्डमा पुरुषतर्फ २९ जनाले सहभागिता जनाएकोमा दुर्गा ६६८ अंक प्राप्त गर्दै सबैभन्दा अगाडि रहेका हुन् । ७२० पुर्णाङ्क रहेको खेलमा नेपाल पुलिसका नगेन्द्र आचार्य ६५३ अंकका साथ वरीयताको दोस्रो स्थानमा र गण्डकीकै खड्ग घर्ती ६४९ अंक ल्याउँदै तेस्रो वरीयतामा रहे । स्टान्डर्ड विधामा ३४ खेलाडीले नाम दर्ता गरेकोमा ५ जना अनुपस्थित रहे ।

महिलातर्फ अनुश्काले सर्वाधिक ६१६ अंक बटुल्दै अग्रस्थानमा रहन सफल भइन् । ६१३ अंक प्राप्त गरेकी नेपाल आर्मीकी शारदा बिक दोस्रो वरीयतामा रहँदा एपीएफकी सोनु जया राईले ६०१ अंक ल्याउँदै तेस्रो स्थानमा रहिन् । महिलातर्फ यो विधामा १४ खेलाडी सहभागी छन् ।

आइतबार बिहानदेखि स्टान्डर्डको महिला पुरुष दुवैको इलिमिनेशन राउण्डका खेल हुने गण्डकी प्रदेश आर्चरी संघका अध्यक्ष एवं केन्द्रीय वरिष्ठ उपाध्यक्ष बसन्त थकालीले जानकारी दिए । पोखरा रंगशाला स्थित आर्चरी मैदानमा सञ्चालन भइरहेको खेलमा दिउँसो भने कम्पाउण्ड (५० मिटर) र रिकर्भ (७० मिटर) विधातर्फ पुरुष र महिलाको र्याङ्किङ राउण्ड हुनेछ ।

समग्र टिमतर्फ पुरुषमा गण्डकी र महिलातर्फ भने आर्मी अग्रस्थानमा रहे । तीन उत्कृष्ट खेलाडीको योगफल पुरुषतर्फ गण्डकी टिमको १९६० र महिलातर्फ आर्मीको १७५३ स्कोर रहेको छ । पुरुषतर्फ दोस्रो स्थानमा एपीएफको अंक १९१२ र तेस्रो स्थानमा पुलिसको १८६९ छ । महिलातर्फ दोस्रो स्थानमा गण्डकी (१६६९ अंक) र तेस्रो स्थानमा प्रदेश १ (१५५५ अंक) रहे ।

आवश्यक टार्गेट बोर्ड नभएका कारण दुई पटक गरी खेल खेलाइएको थियो । आर्चरी खेल संघका अधिकारीहरुले आवश्यक खेलसामाग्री तत्काल व्यवस्था गर्न माग गरेका छन् । खेलमा ५ प्रदेश, ३ विभागीय र एनआरएनए गरी नौ टिमको सहभागिता रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, सुदुरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले आर्चरी खेलमा सहभागिता जनाएका छन् । मधेश र कर्णाली भने सहभागी भएन ।

राष्ट्रिय खेलकुदको पाँचौ संस्करणबाट सहभागिता जनाएको आर्चरी खेलमा यो पटक सबैभन्दा धेरै टोलीको सहभागिता रहेको नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button