नवौँ राष्ट्रिय खेलकुदः १५ स्वर्ण सहित सेना शीर्षस्थानमा

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म विभागीय नेपाली सेनाले पदकमा बर्चस्व कायम गरेको छ । हालसम्म ३० स्वर्ण पदकको छिनोफानो हुँदा सेनाले १५ स्वर्ण, ११ रजत र १० काँस्यसहित ३६ पदक जितेको छ ।

यसैगरी बाग्मती प्रदेशले छ स्वर्ण, पाँच रजत र दुई काँस्यसहित १३ पदक जितेर सेनालाई पछ्याइरहेको छ । सशस्त्र प्रहरीको (एपिएफ) चार स्वर्ण, छ रजत र नौ काँस्यसहित १९ पदक लिएर पदक तालिकाको तृतीय स्थानमा छ । आयोजक गण्डकी प्रदेशले हालसम्म दुई स्वर्ण, दुई रजत र छ काँस्यसहित १० पदक जितेको छ ।

यसैगरी नेपाल प्रहरीले दुई स्वर्ण, एक रजत र तीन काँस्यसहित छ पदक तथा सुदूरपश्चिम प्रदेशले एक स्वर्ण र तीन काँस्यसहित चार पदक जितेको छ । लुम्बिनी प्रदेशले चार रजत, एनआरएनएले एक रजत र प्रदेश नं १ ले पाँच काँस्य पदक जितेका छन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीको सहभागिता रहेकामा कर्णाली प्रदेश र मधेस प्रदेशले पदकको खाता खोल्न सकेका छैनन् ।

नवौँ राष्ट्रिय खेलकुदको यही असोज २८ गते भव्य उद्घाटन गरिएको हो । प्रतियोगिता आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । कतिपय खेल उद्घाटनअगावै सञ्चालन गरिएको थियो । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा प्रतियोगिताका विभिन्न खेल जारी छन् भने केही खेल सुरु हुँदैछन् ।

कबड्डी महिला तथा पुरुष र खोखो महिला तथा पुरुषको खेल आजदेखि पोखरामा सुरु हुने प्रतियोगिताको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button