टेनिसको टिम इभेण्टमा गण्डकी र सेनालाई स्वर्ण पदक

टेनिसको ‘टिम इभेन्ट’तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेका छन् ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मी माथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो ।

टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा सेनाका अकि जुवेन रावतले गण्डकीका अनिल शाहीलाई ६–३ र ६–३ सेटमा पराजित गरे । एकलको दोस्रो खेलमा गण्डकीका प्रदीप खड्काले सेनाका प्रनव खनाल माथि ६–३ र ७–५ सेटमा जित निकाले । पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा प्रदीप र अनिलको जोडीले प्रनव र अकिको जोडीलाई २–६, ६–३ र १०–७ को सेटमा पराजित गरेपछि गण्डकी च्याम्पियन बनेको हो । पुरुषतर्फ गण्डकीले स्वर्ण पदक जित्दा सेनाले रजत पदकमा चित्त बुझायो ।

महिलातर्फ एकलमा सेनाले अर्को विभागीय टोली सशस्त्र प्रहरीलाई हराएको हो । सेनाकी अभिलाषा विष्टले सशस्त्रका सर्भानी श्रेष्ठलाई ७–५,१–६ र ६–१ को सेटमा पराजित गरिन् । अर्को खेलमा सेनाकी आइरा एम रावतले सशस्त्रकी सुनिरा थापालाई ६–१, १–६ र ७–५ सेटमा पराजित गरेपछि सेना च्याम्पियन बन्दै स्वर्ण पदक जित्न सफल भने सशस्त्रले काँस्य पदक पायो ।

महिला टिम इभेन्टमा बाग्मती प्रदेश र नेपाल प्रहरीले काँस्य पदक जित्दा पुरुषतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीले काँस्य पदक जिते । प्रतियोगितामा विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषद्का कार्यवाहक सदस्य सचिव घनश्याम पौडेलले ट्रफी तथा मेडल प्रदान गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button