आर्मीलाई सडनडेथमा ६-५ ले हराउँदै एपीएफलाई पुरुष फुटबलको स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा आर्मीलाई सडनडेथमा हराउँदै एपीएफ क्लबले स्वर्णपदक जितेको छ ।

पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि अतिरिक्त समय थप गरिएको थियो । उक्त समयमासमेत गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो । टाइब्रेकरमा समेत ५–५ गोलको बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो ।

एपीएफको जीतमा गोरक्षक राजु नगरकोटी नायक बने । उनले २ पेनाल्टी प्रहारलाई बचाउ गर्दै टोलीलाई स्वर्ण दिलाए । एपीएफका लागि नविन लामा, आवास लामिछाने, सुदिल सिर्खाकार, गोलरक्षक राजु नगरकोटी, रितेश धिमाल र विश्वास उदासले गोल गरे भने सनिस श्रेष्ठको प्रहार बाहिरियो ।

आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सिमान्त थापा, विवक बस्नेत र विकास खवासले गोल गर्दा सुमन अर्याल र सेसेहाङ आङदेम्बेको प्रहार एपीएफका राजु नगरकोटीले उत्कृष्ट बचाउ गरे । आर्मीको सेसेहाङ आङदाम्बेको प्रहार राजुले बचाउ गरेपनि अघि बढेको भन्दै पुनः प्रहारको अवसर प्राप्त गरेको थियो । दोस्रो प्रहारलाई समेत उनले बचाउ गरेपछि आर्मीले रजतमै चित्त बुझायो ।

त्रिभुवन आर्मी क्लबले पहिलो हाफमा एपिएफलाई केही दबाबमा राखेपनि गोल गर्नबाट चुक्यो । खेलको नवौँ मिनेटमा दिनेशको क्रसमा नवयुगको प्रहार पोष्टनजिकै बाट बाहिरियो । १४ औं मिनेटमा नवयुगको उत्कृष्ट ओभरहेड किक पनि दोस्रोबार नजिकैबाट बाहिरियो । ३३ औं मिनेटमा एपिएफका मनि लामाले गरेको उत्कृष्ट प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गरे ।

३५ औं मिनेटमा आर्मीका सुमन अर्यालले डिएरिया क्षेत्रमा गरेको गल्तीमा एपीएफका प्रदिप लामा गोल गर्नबाट चुके । ४९ औं मिनेटमा दिनेश हेन्जनको कर्नरमा विकास तामाङको हेडर एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाउ गरे । ५८ औं मिनेटमा एपीएफका मनि लामाले निकालिदिएको उत्कृष्ट पास आर्मीका गोलरक्षक विकेशको नियन्त्रणबाट फुत्केपनि एपीएफ फाइदा उठाउन असफल रह्यो । ६१ औं मिनेटमा हरि कार्कीको प्रहार पनि विकेशले उत्कृष्ट बचाउ गरे ।

खेलमा दुवै टोलीबाट कैयौं अवसर सिर्जना भएपनि अग्रता बनाउन भने दुवै टोली असफल रहे । खेलको ७८ औं मिनेटमा दुवै टोलीका खेलाडीबीच केहि विवाद भएपछि आर्मीका परिवर्तित खेलाडी पदम तामाङ र एपिएफका प्रदिप लामाले रातो कार्ड पाए । त्यसपछि दुवै टिम १०-१० खेलाडीमा सीमित हुन पुगे ।

निर्धारित ९० मिनेटको समाप्तिपछि थप गरिएको ४ मिनेटमा एपिएफका सनिस श्रेष्ठले सुदिललाई लडाएपछि डिएरिया नजिकै फ्रिकिको अवसर प्राप्त गरेको थियो । प्रिन्स कार्कीले उत्कृष्ट फ्रिकिक प्रहार गरेपनि गोलरक्षक नगरकोटीले बचाए ।

आर्मीले यसअघि गण्डकी प्रदेशलाई १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने एपिएफले सुदुरपश्चिम प्रदेशलाई ५–१ को फराकिलो गोल अन्तरले पाखा लगायो । पुरुष फुटबलमा गण्डकीले सुदुरपश्चिम प्रदेशलाई १–० को गोल अन्तरले हराउँदै काँस्य जितेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button