राष्ट्रिय खेलकुदमा आर्मी च्याम्पियन, प्रदेशतर्फ आयोजक गण्डकी प्रथम

विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा प्रथम भएको छ । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदक जित्दै शीर्ष स्थान कब्जा गरेको हो । यसपटकसमेत गरी आर्मीले समग्र उपाधिमा ह्याट्रिक पनि पुरा गरेको हो ।

विजेता आर्मीले १ सय ७२ स्वर्ण, १ सय ९ रजत, ८९ कास्य पदक गरि कुल ३ सय ७० पदक सहित पहिलो पटक निर्माण गरिएको रनिङ ट्रफी प्राप्त गर्यो । आर्मीले यस अघिका सातौं र आठौं संस्करणको उपाधिसमेत जितेको थियो ।

६४ स्वर्ण, ७३ रजत र ८१ काँस्य सहित २ सय १८ पदक जितेको सशस्त्र प्रहरी बलको एपिएफ क्लब उपविजेता बन्दा ६१ स्वर्ण, ६१ रजत र ७३ काँस्य पदक सहित १ सय ९५ पदक जितेर नेपाल प्रहरी क्लब तेश्रो बनेको छ । घरेलु मैदानको सदुपयोग गर्दै गण्डकी प्रदेश समग्रमा चौथो र प्रदेशहरुमध्ये भने पहिलो हुन सफल भयो ।

बाग्मती प्रदेशलाई पछि पार्दै गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कास्य सहित १ सय २० पदक जित्यो । पाँचौं स्थानमा सीमित बाग्मती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्य पदक सहित १ सय ४५ पदक आफ्नो  पोल्टामा पार्यो । त्यस्तै प्रदेश १ ले १० स्वर्ण, २३ रजत र ५० कास्य पदक जित्दै छैटौं भएको बन्यो । १० स्वर्ण, १० रजत ४३ कास्य सदक सहित सुदुरपश्चिम प्रदेश सातौँ, एनआरएनए १० स्वर्ण, ९ रजत, ७ कास्य पदक सहित आठौँ तथा ६ स्वर्ण, २२ रजत र ४० कास्य पदक सहित लुम्बिनी प्रदेश नवौँ स्थानमा रहे ।

मधेश प्रदेश दशौँ स्थान रहँदै प्रतियोगिता टुङ्ग्याउँदा कर्णाली प्रदेश भने अन्तिम स्थानमा कायम हुन पुग्यो । मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य पदक जित्दा कर्णाली प्रदेशले २ स्वर्ण ४ रजत र १२ कास्य पदक जित्यो । सुरुमा ४ सय ४ स्वर्ण पदकमा प्रतिष्प्रर्धा हुने घोषणा गरिए पनि प्याराग्लाइडिङ, पौडी र आर्चरीमा २-२ स्वर्ण पदक र स्क्वास र सफ्टेनिसमा एक एक स्वर्ण पदकको लागि खेल स्थगित भएको प्राविधिक संयोजक हिमाल दाहालले बताए ।

गण्डकी प्रदेशका ८ जिल्लामा भएको उक्त प्रतियोगिताको सुटिङ र पुरुष क्रिकेटका खेल भने काठमाण्डौँमा भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button