विद्यालयको स्तरवृद्धिका लागि पूर्व विद्यार्थीले उठाए एक करोड सहयोग

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीको किसानी चन्द्रकुन्ता माविको स्तरवृद्धिका लागि पूर्व विद्यार्थीले रु एक करोड बढी सहयोग जुटाएका छन् ।

दश जोड दुई तहको कक्षा र प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्न धारापानी पूर्व विद्यार्थी सङ्घले अक्षयकोष स्थापना गर्न आर्थिक स्रोत जुटाएको हो । सङ्घका अध्यक्ष भरतबहादुर थापाले स्वदेश तथा विदेशमा रहेका धारापानी र छिमेकी गाउँका बासिन्दाबाट रु एक करोड तीन लाख सहयोग जुटेको जानकारी दिनुभयो ।

सामाजिक सञ्जाल फेसबुकबाट अभियानका साथै सांस्कृतिक कार्यक्रम गरेर आर्थिक सङ्कलन गरिएको हो । धारापानीकी सरु पुनले सबैभन्दा बढी रु सात लाख उपलब्ध गराउनुभएको छ । विद्यालयको भवन बनाउन स्थानीय चक्रबहादुर थापा, उहाँका भाइ पूर्ण थापा, बहिनी सुवा र मना खत्रीले बुबा चन्द्रबहादुर थापा र आमा कुन्तादेवी थापाको नाममा सात रोपनी जग्गा उपलब्ध गराउनुभएको छ ।

जग्गा उपलब्ध गराउने दाताको नाममा विद्यालयको नामाकरण गरिएको छ । यसअघि किसानी मावि नाम थियो । दाताको नाम थपेर किसानी चन्द्रकुन्ता मावि बनाइएको छ । धारापानी घर भई हाल अमेरिकामा रहेका मोहन थापाले रु पाँच लाख दुई सय १५, बेदबहादुर राना र गीता रानाले रु पाँच लाख एक सय ५५, तेजिन्द्र थापा र विष्णु थापाले रु तीन लाख एक सय २५, काठमाडौँमा बस्ने पदमजङ्ग थापाले रु एक लाख पाँच सय ५५, लालबहादुर राना र नरदेवी रानाले रु. एक लाख एक सय ११ सहयोग गर्नुभएको छ ।

एक वर्षभित्र जम्मा गरिसक्ने र अक्षयकोष बनाएर विद्यालयको स्तरवृद्धिका लागि परिचालन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर थापाले बताउनुभयो । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा दुई सय २८ जना विद्यार्थी छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button