भैरहवादेखि मानुङकोटसम्म साइकलमै सरर

आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित भैरहवाबाट सुरु भएको साइकलयात्राको टोली तनहुँ आइपुगेको छ । साइकल सिटी भैरहवाको आयोजनामा शुक्रबारदेखि सुरु भएको साइकलयात्राको टोली आइतबार तनहुँ आइपुगेको हो । उक्त टोलीलाई शुक्रबार गृहमन्त्री बालकृष्ण खाणले बिदाइ गर्नुभएको थियो ।

साइकलयात्री तेस्रो दिन तनहुँको व्यास नगरपालिका–५ मानुङकोट आइपुगेका छन् । तनहुँको भिमाद, खैरेनीटार, जामुने हुँदै टोली साँझ मानुङकोट पुगेको हो । साइकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारु मगरले आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित साइकलयात्रा गरिएको जानकारी दिनुभयो । “साइकल पर्यटनबाट आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित साइकलमा यात्रा गरेका हौँ”, उहाँले भन्नुभयो, “हाम्रो यो यात्रा निरन्तर जारी रहन्छ ।” गत वर्ष अर्घाखाँचीमा साइकलयात्रा गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मानिसको दैनिक जीवनमा साइकल महत्वपूर्ण साधन बनेको छ, महँगिदो पेट्रोलका कारण पनि साइकल प्रयोगमा जोड दिँदै आएका छौँ । स्वास्थ्यका हिसाबले पनि साइकल प्रभावकारी छ ।” भैरहवादेखि सुरु भएको यात्रा तनहुँको व्यास नगरपालिका–५ मानुङकोट पुगेर टुङ्गिनेछ । मानुङकोटसम्म पुगेर चितवन हुँदै भैरहवा फर्किने कार्यक्रम तय भएको छ ।

भैरहवा साइकल सिटीमा ७० जना सदस्य आबद्ध भए पनि साइकल यात्रामा १६ जना सहभागी छन् । “सबैजनाको अनुकूल मिलेन, कोही व्यापार व्यवसायमा हुनुहुन्छ, कोही सरकारी जागिरमा हुनुहुन्छ, समय मिलाएर प्रतिनिधित्वमूलक साइकलयात्रा गरेका छौँ”, उहाँले भन्नुभयो ।

साइकल टोलीलाई व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले साइकलयात्रीलाई स्वागत एवं सम्मान गर्नुभएको छ । सो क्रममा व्यास नगरपालिकाका उपप्रमुद दरैले पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको मानुङकोटको प्रचारप्रसारका लागि साइकल यात्राले सहयोग पुग्ने बताउनुभयो ।

कुहिरो र सूर्योदय अवलोकनका लागि पर्यटक मानुङकोट आउने क्रम बढेको र साइकलयात्राले यहाँको पर्यटनमा थप टेवा पुग्ने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । यस्तै साइकलयात्रीलाई भिमाद नगरपालिकाले स्वागत एवं सम्मान गरेको छ । भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले पर्यटन प्रवद्र्धनका लागि थालिएको प्रयासले सार्थक रुप लिने बताउनुभयो ।

साइकलयात्रीलाई म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ पँधेरा सामुदायिक वन उपभोक्ता समूहले पनि स्वागत गरेको छ । सामुदायिक वनभित्र निर्मित रुखमाथि बनेको घर (ट्रि हाउस) मा साइकलयात्रीलाई स्वागत गरिएको हो । साइकलयात्री थीरेन्द्र श्रेष्ठले पर्यटन प्रबर्द्धनका लागि रुखमाथि बनेको घर एकदमै राम्रो रहेको प्रतिक्रिया दिनुभयो ।

म्याग्दे–२ का वडाध्यक्ष शिवबहादुर रानाभाट, ज्यानटाङ पँधेरा सामुदायिक वनका उपाध्यक्ष सरस्वती रानाभाटलगायतले साइकलयात्रीलाई फूलमालाले स्वागत गर्नुभएको थियो । यात्राको पहिलो दिन भैरहवाबाट सुरु भई बुटवल, पाल्पा बर्तुङ, आर्यभञ्ज्याङ, चिदीपानी, हुमिन हुँदै धोबाधीमा यात्रा अन्त्य गरेको टोलीले जानकारी दियो ।

दोस्रो दिन धोबाधीबाट यात्रा सुरु गरी रम्भादेवी मन्दिर, ताहुँ बजार, बिर्कोट, रामपुरसम्म यात्रा सम्पन्न भएको थियो । तेस्रो दिन भिमाद बजार हुँदै खैरेनीटार, जामुने भञ्ज्याङ, चापाघाट हुँदै मानुङकोटसम्म साइकलयात्रा गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button