मर्दीखोलाको पानी शुद्धीकरण अन्तिम चरणमा, धाराबाटै थापेर पिउन मिल्ने दाबी

बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी आयोजना पछिको सबैभन्दा ठुलो मानिएको यो आयोजना जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को रु.पाँच अर्ब अनुदान सहयोगमा पोखरामा निर्माण सुरु गरिएको थियो ।

पोखरेलीले सिधै धाराबाट थापेर पिउन मिल्ने गरी पानी सफा बनाउने लक्ष्य राखिएको आयोजनाको हाल ८८ प्रतिशत काम सकिएको छ । पोखरावासीको खानेपानीको प्रमुख स्रोत मर्दीखोलाबाट ल्याइएको पानी हाल प्रशोधन नगरीकन धारामा पठाउने गरिएकामा मुहानबाटै शुद्धीकरण गरेर सिधै धाराबाट पिउन योग्य बनाउने आयोजनाको लक्ष्य रहेको छ ।

गण्डकी प्रदेशको राजधानी सहर पोखराका आधाभन्दा बढी जनसङ्ख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । जाइकाको अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा खानेपानी संस्थानले आयोजना कार्यान्वयन गरिरहेको तथा निर्माणको काम जापानको हाज्मा एण्ड कपोेरेशनले गरिरहेको पोखरा खानेपानी सुधार आयोजनाले जनाएको छ ।

हाल आयोजनाको पाइप लाइन विस्तार, एउटा रिजर्भायर ट्याङ्की र मुहानमा केही काम मात्र बाँकी रहेको महानगरले जनाएको छ । त्यस्तै मर्दी मुहानमा ग्रिड च्याम्बर’, सेडिमेन्टेशन ट्याङ्की’ र स्लो स्याण्ड फिल्टर’ को ९५ प्रतिशत काम सकिएको छ । पोखराभित्रका तीन वटा ठुला रिजरर्भायर ट्याङ्कीमध्ये फूलबारी र मालेपाटनको सकिएको छ ।

कोलपाटनको रिजरर्भायर ट्याङ्कीको काम भने प्राविधिक समस्याका कारण रोकिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलसँगको सो ट्याङ्कीको उचाइका कारण एयरपोर्ट सञ्चालनमा प्राविधिक समस्या आउन सक्ने अनुमान कारण रोकिएको हो । यसै गरी बजार क्षेत्रमा १०० किमी पाइप लाइन विस्तारको काममध्ये अब १५-१६ किमी मात्र बाँकी रहेको योजनाले जानकारी दिएको छ ।

आयोजना सम्पन्न भएपछि आयोजनाले समेटेको क्षेत्रमा राष्ट्रिय खानेपानी गुणस्तर अनुसारको प्रशोधित पानी उपलब्ध हुने खानेपानी संस्थानले जनाएको छ । योजनाबाट पोखरा महानगरका चार लाख पाँच हजार ८८९ जनसङ्ख्या आयोजनाबाट लाभान्वित हुने अनुमान गरिएको छ । पहिले पोखरा उपमहानगर हुँदाको १७ वडा र मुख्य पोखराको क्षेत्रमा मर्दी खोलाबाट ल्याइएको पानी हाल वितरण हुँदै आएको छ ।

मर्दी मुहानबाट २० र १६ इन्चका पाइपमार्फत पोखरामा पानी वितरण हुने आयोजनाले बताएको छ । खानेपानी सुधार आयोजनाअन्तर्गत मर्दीखोलाको पानी यसको मुहान र पोखरा–१९ पुुरुनचौरको ट्रिटमेन्ट प्लान्टमा आवश्यक प्रक्रियामा अपनाएर प्रशोधन गरिनेछ । प्रशोधित पानी त्यहाँबाट पोखरा–२ मिरुवामा रहेको संस्थानको ट्याङ्कीमा जडान गरिनेछ ।

योजना अनुसार पानी सफा बनाउन मुहान नजिक ग्रीट च्याम्बर र दैनिक चार करोड २० लाख लिटर प्रशोधन क्षमताको सेडिमेन्टेशन ट्याङ्की निर्माणको काम सकिनै लागेको छ । मुहानको सेडिमेन्टेशन पोखरीबाट प्रशोधित पानी दुई किमी टाढाको पुरुनचौरमा निर्माणाधीन स्लो स्याण्ड फिल्टरमा लगिनेछ । त्यहाँ थप प्रशोधनका लागि चार वटा पानी थिग्राउने ट्याङ्की, छ वटा पानी छान्ने फिल्टर, दुई वटा सफा पानी सङ्कलन गर्ने ट्याङ्की (स्लो स्याण्ड फिल्टर) र क्लोरिनेसन प्लान्ट निर्माण गरिएको छ ।

यसरी प्रशोधित सफा पानी वितरणका लागि आयोजनाले फूलबारी, कोलपाटन र प्रस्याङमा २० लाख लिटर क्षमताका रिजर्भाएर ट्याङ्की निर्माण गरेको हो । खानेपानी संस्थानका अनुसार पोखरामा संस्थानका ४७ हजार ग्राहक छन् । तीमध्ये मर्दीखोलाको पानी प्रयोग गर्ने ३५ हजार छन् । यसै गरी कालीखोला र भोटीखोलाका पाँच–पाँच हजार ग्राहक छन् । दुई हजार घरमा भने बोरिङको पानी पुर्याइएको छ ।

सो आयोजनाको शुक्रबार दातृ निकाय जाइका र पोखरा महानगरपालिकाका प्रमुखसहितको संयुक्त टोलीले स्थलगत अनुगमन गरेको थियो । आयोजना निर्माणस्थल मै पुगेर महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, आयोजना निर्माणाधीन वडाका वडाअध्यक्षहरु मोतीराज तिम्सिना र पुष्पेन्द्र पाण्डे लगायत जाईकाको टोलीले अवलोकन गरेको हो ।

यस आयोजना निर्माण पश्चात् पोखरेलीले शुद्ध खानेपानी उपभोग गर्न पाउने विश्वास प्रमुख आचार्यले व्यक्त गर्नुभयो । आयोजना निर्माणका क्रममा देखिएका समस्याहरू समाधानका लागि महानगरपालिकाको तर्फबाट आवश्यक समन्वय समेत गरिने उहाँले बताउनुभयो । पोखरेलीहरूलाई शुद्ध खानेपानी खुवाउने विषयमा पोखरा महानगरपालिका गम्भीर रहेको प्रमुख आचार्यले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button