म्याग्दीमा निर्वाचनको तयारी तीव्र

आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको म्याग्दीमा तयारी तीव्र पारिएको छ ।

चुनावका लागि आवश्यक सामग्री म्याग्दीमा आइपुगेको छ । निर्वाचन आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने ५८ प्रकारका सामग्री पठाएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताउनुभयो ।

“प्राप्त भएको मतपेटिका, मतपत्र, छेकावार, कोरा कपडा, स्वस्तिक छाप, मसीलगायत मतदान केन्द्रमा आवश्यक पर्ने सामग्रीलाई प्याकिङ गरेर तयार पारिएको छ”, उहाँले भन्नुभयो, “मतदाता शिक्षा अभियान सञ्चालनसँगै कर्मचारी व्यवस्थापनको तयारीमा जुटेका छौँ ।”

एक सय २० मतदान अधिकृत, एक सय २० सहायक मतदान अधिकृत, पाँच सय ९३ सहायक कर्मचारी, एक सय २० जना सहयोगी कर्मचारी मतदान केन्द्रमा खटाउन छनोटको प्रक्रिया थालिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहका कार्यालयबाट कर्मचारीको विवरण सङ्कलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई उपलब्ध गराइएको छ ।

बदर मतको दर घटाउन मतदाता शिक्षाका लागि आजदेखि जिल्लाभर चार सय ६१ जना स्वयंसेवक परिचालन भएका छन् । स्वयंसेवकले मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेलगायत विषयमा सिकाउने छन् ।

छवटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदानस्थल र एक सय १९ वटा मतदान केन्द्र छन् । जिल्ला सुरक्षा समितिले म्याग्दीका ८२ मतदानस्थलमध्ये १५ वटालाई अतिसंवेदनशील, ५८ लाई संवेदनशील र नौवटालाई सामान्य समूहमा राखेर योजना बनाएको नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

सात सय ३२ जना म्यादी प्रहरी भर्ना गरेर १० दिनको तालिम प्रदान गरी परिचालन गरिएको छ । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (१) मा ४८ हजार चार सय ७२ मतदाता छन् । मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (२) मा ३७ हजार छ सय ४८ मतदाता छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button