
पोखराको नयाँ गाउँस्थित ’ग्लो संस्था’ मा सिलाई कटाईको तालिम लिइरहेका २० जना महिलालाई संस्थाले सिलाई मेसिन वितरण गरेको छ।
पोखरा महानगरपालिका-१५ नयाँ गाउँ स्थित उक्त संस्थामा विगत ४ महिनादेखि निःशुल्क सिलाई कटाईको तालिम लिइहेका २० जना गरिब तथा विपन्न महिलालाई संस्थाले आज बिदाइ गर्दै निःशुल्क सिलाई मेसिनसमेत वितरण गरेको हो ।
निःशुल्क मेसिन वितरण कार्यक्रममा मेसिन प्रदान गर्दै वडाध्यक्ष तोरण बहादुर बानियाँले ग्लो संस्थासँग सहकार्य भएको र वडामा महिला उद्यमशीलता र युवा स्वरोजगारका कार्यक्रमलाई अगाडि बढाउँदै लगिएको बताए । उनले पवित्र उद्देश्य लिएर हिँडेको ’ग्लो संस्था’ले समाजमा रहेका असहाय, अपाङ्ग, गरिब तथा विपन्न वर्ग र समस्यामा परेकाहरूको उत्थानका लागि निःशुल्क शैक्षिक सामाग्री वितरण लगायत हरेक क्रियाकलापमा सहयोग गर्दै आइरहेको प्रति संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्य रहने बताए ।
साथै बानियाँले वडाको उद्देश्य अनुरूप यो पहिलो सुरुवाती कार्य मात्र भएको र अबका दिनमा वडाका अन्य संस्थाहरूसँग पनि सहकार्य गदै यस्ता कार्यक्रमलाई अगाडि बढाउँदै लैजाने बताए। संस्थाकी संस्थापक सिता पौडेलले सिकेको सीपलाई व्यवहारमा उतार्न तालिममा सहभागीहरूलाई सुझाव दिइन् । उनले सहभागीहरूसँग छुट्टै आत्मीयता गाँसिएको भन्दै यही सीपबाट आत्मनिर्भर भएर प्रगति गर्न पनि प्रेरित गरिन् ।
वडा सदस्य बलराम पौडेलले सहभागी महिला दिदी बहिनीहरूलाई प्रदान गरिएको मेसिन मेसिन मात्र नभएर जीवन रूपान्तरण गर्ने साधन भएकाले यसको जतनसँग उपयोग गर्न आग्रह गरे । उनले सिलाई कटाई पेसा अति उत्तम पेसा रहेको भन्दै आत्मनिर्भर भएर समाजमा उदाहरणीय बन्न सबैलाई सुझाव दिए ।
यस्तै, संस्थाका निर्देशक आगमन राज पौडेलले आज उपलब्ध गराइएको मेसिन आफ्नै खुट्टामा उभिन र आफै श्रम गरेर जिउनका लागि औजारको रूपमा रहेको बताए । उनले यस औजार लाई नचलाए औजारमा मात्र नभई सीपमा पनि खिया लाग्ने भन्दै यसको सही प्रयोग गर्दै आफ्नो सीपलाई पनि उधाएर अगाडि बढ्न तथा उन्नति प्रगति गर्न शुभकामना दिए ।
वडा नं १५ को सिफारिस तथा समन्वयमा वडावासी २० जना गरिब तथा विपन्न महिलालाई उक्त संस्थामा निशुल्क सिलाई कटाई तालिमका दिइएको थियो।
संस्थाले तालिममा सहभागी सबैलाई ३ लाख बराबरको उषा कम्पनीको सिलाई मेसिन र मेसिन राख्ने स्ट्यान्ड वितरण गरेको हो।
निःशुल्क मेसिन वितरण कार्यक्रममा संस्थाका संस्थापक, निर्देशक तथा वडाका जनप्रतिनिधिहरू लगायत तालिमकी प्रशिक्षक उषा नेपालीको सहभागिता रहेको थियो। उक्त संस्थामा हाल थप १० जना गरिब तथा जेहेन्दार छात्र छात्राले निःशुल्क कम्प्युटरको तालिम लिइरहेका छन्।





