५४ करोडको लागतमा विकास हुँदै छिम्केश्वरी पर्यटन मार्ग

आँबुखैरेनी गाउँपालिका-५ मा पर्ने छिम्केश्वरी पर्यटन मार्ग कालोपत्र गर्नका लागि तीन तहकै सरकारले ५४ करोड रुपैयाँ लगानी गर्न लागेका छन् ।

गण्डकी प्रदेशको ४७ करोड, सङ्घीय सरकारको समपुरक रु छ करोड र आँबुखैरेनी गाउँपालिकाको रु एक करोड गरी रु ५४ करोड लगानी हुने गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा रहेको धार्मिक पर्यटकीयस्थल छिम्केश्वरी मन्दिर जाने मार्ग कालोपत्र गर्न लागिएको हो । सडक कालोपत्रेको ठेक्का शर्मा काष्ठमण्डप निर्माण सेवा पाएको छ ।

छिम्केश्वरी मन्दिर धार्मिक आस्थाको केन्द्र रहनुका साथै त्यहाँबाट देखिने प्राकृतिक दृश्य हेर्न पर्यटक आउने गरेका छन् । यहाँबाट हिमशृङ्खला, हरियाली डाँडाकाँडा तथा समथर फाँट सजिलै देख्न सकिन्छ । जिल्लाको आँबु, भाँगे, छिम्केश्वरी, हिलेखर्क, बाहुन भञ्ज्याङ, छिम्केश्वरी सडक पर्यटक मार्गको नामले परिचित हुँदै आएको अध्यक्ष चुमानले बताउनुभयो ।

आँबुखैरेनी–३ गाउँपालिका चोकदेखि छिम्केश्वरी डाँडासम्म करिब १६ किलोमिटरमध्ये रु ५० लाखको लागतमा तीन किमी सडक स्तरोन्नती गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । दुई वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि कोरोना महामारीका कारण ढिलाइ भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button