
कालीकोट जिल्लामा जीप दुर्घटना हुँदा ३ युवाको मृत्यु भयो ।
मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको जीप तिलागुफा-५ खल्लागाड पुल नजिकैबाट खोलामा खस्दा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको हो । घटनामा जीपमा सवार अन्य ७ जना पनि घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको प्रहरीले जनाएको छ ।
मङ्गलबार मध्यान्ह करिब ११:४५ बजे भएको घटनामा अक्कल विश्वकर्माको घटनास्थलमै र अन्य दुई जनाको उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





