पर्यटकको रोजाइ बन्दै लमजुङको अक्टोपस र बुङ झरना

बेँसीसहर–चामे सडकमै सङ्लो पानी झर्झर् गर्दै झरिरहेको छहरा छ । एक सय मिटरभन्दा बढी उचाइबाट झरेको पानी सडकमै खस्छ । छहरामा लहराउँदै झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणीले झनै सुन्दरता थपिदिन्छ । मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको त्यही सुन्दर अत्यन्त मनमोहक अक्टोपसको खुट्टा झैँ झरेको अक्टोपस झरना पनि हो ।

वर्षायामका कारण सुनसान रहेको विश्व चर्चित चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने यस झरनामा यतिबेला पर्यटकको भीडभाड हुन थालेको छ । यहाँ यतिबेला दैनिक सयदेखि दुई सयजनासम्म आन्तरिक तथा विदेशी पर्यटक आउन थालेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “पदमार्गमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै झरनामा आउने पर्यटक आगमनमा पनि वृद्धि हुन थालेको छ ।” यतिबेला चुनावले अधिकांशको ध्यान केन्द्रित गरिरहे पनि पर्यटकलाई भने सो लगायतका झरनाले ध्यान केन्द्रित गर्दै लोभ्याइरहेको उहाँको भनाइ छ ।

सवारीसाधनमा मनाङ गएका पर्यटकसमेत त्यहाँ पुगेपछि एकै छिन भए पनि सवारी रोकेर झरनामा रमाउने गर्दछन् । छहराले त्यहाँ पुग्ने जो कसैलाई सहजै लोभ्याउँछ । छहरा हेर्दै फुरुङ्ग बनेका पर्यटक कोही धमाधम छहराको फोटो खिच्छन्, त कोही छहरालाई पृष्ठभूमिमा पारेर आफ्नै फोटो र सेल्फी खिच्छन् । पहिलोदेखि तेस्रो लहरको कोरोना सङ्क्रमणका कारण लामो समय सुनसान भएर उक्त सङ्क्रमण जोखिम कम भएसँगै दैनिक पर्यटकको सङ्ख्या बढ्न थालेकोे छ ।

यस झरनामा विशेषगरी अन्नपूर्ण पदमार्गमा आउने बाह्य पर्यटक तथा मनाङ घुम्न जाने आन्तरिक पर्यटक झरनामा आउने गरेको स्थानीय सरोज विश्वकर्माले बताउनुभयो । उहाँ मात्र नभई उक्त झरनामा पुग्ने अधिकांश पर्यटकको भनाइ उस्तै हुन्छ । यो झरना बेँसीसहर–चामे सडकको बीच भागमै झर्ने भएकाले सवारी मोटरसाइकलमा जाने यात्रु तथा पर्यटकलाई त रुझाउने गर्दछ ।

यो झरनाको तस्बिर खिचेर सामाजिक सञ्जालमा अधिकांश पर्यटकले हाल्ने गरेको स्थानीयको भनाइ छ । केही समयसम्म सवारीसाधनमा मनाङ आवतजावत गर्नेमध्ये केही यात्रु दैनिक १०-१२ जना मात्र झरनामा रमाउने गरे पनि यतिबेला पर्यटक ह्वात्तै बढेकोे स्थानीयको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button