
कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यमा गठबन्धनका साझा उमेदवारका रामजीप्रसाद बराल जीवनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ३ हजार मिटरको रनवे बनाउन पहल गर्ने बताएका छन् ।
बिहिबार पर्यटन व्यवसायीसँगको छलफलमा उम्मेदवार बरालले गण्डकी प्रदेश र राजधानी पोखरा क्षेत्रको बृहत विकासको लागि कम्तिमा पनि विमानस्थलमा ३ हजार मिटरको रनवे आवश्यक हुने भएकोले त्यसको लागि आवश्यक पहल गर्ने बताएका हुन् । पर्यटन व्यवसायीहरुले पोखरामा नयाँ विमानस्थल निर्माण भएपछि पर्यटनको प्रबर्द्धन हुने विश्वासका साथ ठुलो लगानी गरेका थिए ।
तर हाल पोखरा विमानस्थलमा निर्माण भएको २ हजार ५ सय मिटरको रनवेका आधारमा करिब १ सय ७५ सिटे हवाईजहाजको मात्रै उडान सम्भव हुने भएपछि व्यवसायी निराश भएका हुन् । कम्तिमा पनि २ सय सिट क्षमताको विमान तेश्रो मुलुकदेखि आउने वातावरण निर्माण गर्न सकेमात्र पोखरा क्षेत्रमा पर्यटनको विकास हुने नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बताए ।
फरक प्रसङ्गमा उम्मेदवार बरालले आजको एक नम्बरको समस्या भनेको काठमाडौँ केन्द्रित एकात्मक सोच भएको दाबी गरे । एकात्मक बादी र आफ्नो गुटको मात्र हित हुने सोच भएको नेतृत्व भएको कारण परिवर्तन गर्न नसकिएको उनको दाबी छ । संघ सरकारले प्रदेशलाई दिनुपर्ने अधिकार दिन आनाकाना गर्ने गरेको उनले गुनासो गरे ।
पर्यटनको विकासको लागि पहिलो आधार पूर्वाधार भएको बताउँदै बरालले पूर्वाधार विकास पनि व्यवस्थित ढंगले हुनु पर्नेमा अराजक ढंगले भएको जनाए । पर्यटन व्यवसायीहरुको हाल परेको पिर मर्काको बिषयमा छलफल गरी त्यसको निकास निकाल्नु पर्ने पनि उम्मेदवार बरालको भनाई थियो ।
कार्यक्रममा गठबन्धनका साझा उमेदवार कास्की ३ (२) का प्रदेश सभा सदस्यका प्रत्यासी प्रकाश बरालले पोखरा क्षेत्रमा साहसिक खेल पर्यटनको निकै सम्भावना भएकोले त्यसको प्रबर्द्धन गर्न सके यहाँको आर्थिक विकास हुने दाबी गरे । हिमाल आरोहण, क्यानोनिङ, कायकिङ, प्याराग्लाईडिङ, र्याफ्टिङ लगायतको सहासिक खेलबाट धेरै पर्यटन भित्राउन सकिने उनले जनाए ।
कास्की २ (१) का प्रदेश सभा सदस्यका प्रत्यासी विश्वप्रकाश लामिछानेले रामसार सुचिमा सूचिकृत भएका पोखराका तालहरुलाई विश्व सम्पदा सूचिमा सूचिकृत गरी बृहत विकास गर्नु पर्ने बताए । पर्यटन व्यवसायी टिकाराम सापकोटा, होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं समितिका संयोजक गणेश भट्टराईले बैंक तथा वित्तीय संस्थाबाट हाल व्यवसायीहरु चर्काे ब्याजको मारमा परेको गुनासो गर्दै गठबन्धन सरकारले त्यसको निकास दिन माग गरे ।
नेपाली काँग्रेस प्रचार प्रसार उपसमितिले बिहिबार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा प्रदेश सभाको समानुपातिक उम्मेदवार सरस्वती गुरुङ, कास्की ३ (२) माओवादी केन्द्रका प्रचार संयोजक त्रिभुवन पौडेल, कास्की ३ (२) काँग्रेसका प्रचार संयोजक राजबहादुर गुरुङ, महिला पर्यटन व्यवसायी संघका उपाध्यक्ष कमला गिरी, समितिका सदस्य सञ्जय सिग्देल, सोम थापालगायतले बोलेका थिए ।
यसैबीच, गठबन्धनले बिहिबार पोखरा-६ मा चुनावी प्रचार अभियानअन्तर्गत घर दैलो कार्यक्रम आयोजना गरेको थियो ।





