कुश्मा-बलेवा यान्त्रिक पुल आजदेखि बन्द गरिने

पर्वतकाे कुश्माबजार र बाग्लुङको बलेवा जोड्ने गरी निर्माण गरिएको केबुलकार मोडेलको यान्त्रिक पुल केही दिन बन्द हुने भएको छ ।

पुलको नियमित मर्मतका लागि आजदेखि झण्डै एक साताका लागि बन्द गरिने कम्पनीले जनाएको छ । पुलको दुवै भागमा रहेका लठ्ठा, डब्बा तथा अन्य मेसिनरी सामानको नियमित मर्मत तथा सफाइका लागि बन्द गरिने कुश्मा-बलेवा यान्त्रिक पुल लिमिटेडका सञ्चालक केदारनाथ शर्माले जानकारी दिनुभयो ।

पर्वतको सदरमुकाम कुश्माबाट बाग्लुङ नगरपालिका वडा नं १४ बलेवासम्म जोडिएको उक्त पुलबाट दैनिक पाँच सय सर्वसाधारण आवातजावत गर्दै आएका छन् । पुलका डब्बा तान्न प्रयोग हुने मसिना लठ्ठा एक-एक वर्षमा परिवर्तन गर्नुपर्ने भएकाले बन्द गर्नुपरेको शर्माले बताउनुभयो । तर यसपटक लामो समयपछि मात्रै मर्मत गर्न थालिएको हो ।

यान्त्रिक पुल बन्द हुँदा दुवै क्षेत्रका सर्वसाधारण एक घण्टाको घुमाउरो बाटो यात्रा गरी बडागाउँ–कैया झोलुङ्गेपुल वा शुल्क तिरेर बन्जी पुलबाट आवातजावत गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । यो पुल दक्षिणी बाग्लुङका एक दर्जन गाउँका बासिन्दाले प्रयोग गर्दै आएका छन् । पुल हेर्न आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने गरेका छन् ।

२०६८ मा करिब रु चार करोडको लागतमा बनाइएको यो पुलबाट एक डब्बामा एकपटकमा आठ जना गरी दुईमा १६ जना मानिस आवातजावत गर्दै आएका छन् । पुलका कारण स्थानीयलाई यात्रामा सहजता हुनुका साथै सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ ।

पुल प्रयोग गर्नका लागि स्थानीयवासी र अन्य यात्रुका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button