दमौली अस्पतालमा दैनिक २० जनालाई डायलासिस सेवा

दमौली अस्पतालमा सञ्चालित डायलासिस उपचार केन्द्रबाट तनहुँसहित चार जिल्लाका बिरामीले डायलासिस सेवा पाएका छन् ।

तनहुँ सहित छिमेकी लमजुङ, गोरखा र कास्कीका मिर्गौला पीडित बिरामीलाई डायलासिस गर्न सहज भएको छ । विसं २०७२ मङ्सिर २ गतेदेखि रु एक करोड २५ लाखको लागतमा दमौली अस्पतालमा पहिलो पटक डायलासिस सेवा सञ्चालनमा ल्याइएको हो । हाल डायलासिस केन्द्रमा ५७ जना बिरामी उपचाररत रहेको शाखा प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिनुभयो ।

डायलासिस सेवा सञ्चालन भएदेखि हालसम्म दुई सय २८ जनाको ४२ हजार पाँच सय ८९ पटक डायलासिस गरिएको छ । अस्पतालमा ७० मिर्गौलाका बिरामी डायलासिस पालोको प्रतीक्षामा रहेका छन् । गण्डकी प्रदेश सरकारले सत्रुघ्न मञ्जु डायलासिस उपचार केन्द्रलाई दुई वटा नयाँ डायलासिस मेसिन प्राप्त भएकाले बिरामीको उपचारमा सहज भएको छ ।

केन्द्रमा रहेका नौ वटा मेसिन र थप दुई मेसिनले दैनिक तीस जना बिरामीलाई सेवा दिन सकिनेछ । हाल दैनिक २० जनालाई डायलासिस सेवा प्रदान गर्दै आएको केन्द्रले जनाएको छ । गण्डकी प्रदेशभरिका डायलासिस सेवा प्रदान गर्नेहरुका लागि तालिम दिने केन्द्रका रुपमा विकास गर्न लागेको दमौली अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रदेश सरकारले अरु चार वटा नयाँ मेसिन थप्नेगरी प्रक्रिया अघि बढाएको छ । अध्यक्ष थापाले भन्नुभयो, “मङ्सिर महिनाभित्रमा दमौली अस्पताललाई ५० शय्याको अस्पताल बनाउने योजना रहेको छ ।”

हाल पन्ध्र शय्याको अस्पताल सञ्चालन गर्दै आए पनि प्रदेश सरकारले ५० शय्याको स्वीकृति दिइसकेको उहाँले बताउनुभयो । अस्पतालसँगै रहेको कृषि ज्ञानकेन्द्र र भेटेरिनरी अस्पतालको गरी साढे तीन रोपनी जग्गा सङ्घीय सरकारले उपलब्धका लागि स्वीकृति प्रदान गरिसकेको समितिले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button