अन्नपूर्ण पदमार्गमा ‘याक अट्याक’ प्रतियोगिता सुरु

विश्व चर्चित चक्रिय अन्नपूर्ण पदमार्गमा ‘याक अट्याक’ २०२२ प्रतियोगिता सुरु भएको छ । कोरोना सङ्क्रमणका कारण दुई वर्ष स्थगित यस प्रतियोगिता पुनः आजदेखि चक्रिय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार रहेको लमजुङ जिल्लाको बेँसीसहरबाट सुरु भएको हो ।

बेलायतस्थित माउण्टेन बाइकिङ वर्ल्ड वाइडको आयोजना तथा नेपालस्थित माउन्ट टिभी नेपालको व्यवस्थापनमा ‘याक अट्याक’ साइकल रेस प्रतियोगिता सुरु भएको हो । आइतबार दक्षिण एसियाकै नमूना घलेगाउँ पुगेर बेँसीसहर फर्किएर सोमबार प्रतियोगीहरु मनाङको चामेसम्म पुगेको संयोजक अजय पण्डित क्षेत्रीले बताउनुभयो ।

उहाँका अनुसार सात दिनसम्म यस प्रतियोगिता सञ्चालन हुनेछ । सहभागीहरु तेस्रो दिन अर्थात मङ्गलबार चामेबाट मनाङसम्म पुग्नेछन् र चौथो दिन त्यहाँबाट थोराङफेदीसम्म पुग्ने छन् । प्रतियोगिताको पाँचौँ दिन त्यहाँबाट कागबेनीसम्म पुग्ने र छैटौँ दिन त्यहाँबाट मुक्तिनाथ पुगेर पुनः कागबेनी आउने र प्रतियोगिताको अन्तिम अर्थात् सातौँ दिन कागबेनीबाट कालापानी मुस्ताङमा पुगेर प्रतियोगिता टुङ्गिने कार्यक्रम रहेको छ । प्रतियोगिता समापन कार्यक्रम भने तातोपानीबाट पोखरा गएर गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको क्रममा उनीहरूले संसारकै सबैभन्दा अग्लो हिमाली भञ्ज्याङ थोराङला (पाँच हजार चार सय १६ मि) उचाइ पार गर्ने भएका छन् । प्रतियोगितामा नेपालका नौजनासहित क्यानडा, अस्ट्रेलिया, बेलायत, ब्राजिल, नेदरल्यान्ड र बेल्जियम गरी २१ प्रतियोगी सहभागी भएको आयोजकले जनाएको छ । यस प्रतियोगितामा विश्वभरिबाट सहभागी हुने र नेपाल र पर्यटक क्षेत्र चिनाउन मद्दत पुग्ने र नेपाली साइकल खेलाडीलाई माथि उकास्दै यस्ता प्रतियोगितातर्फ आकर्षण गर्नलाई यस प्रतियोगिता आयोजना गरिएको संयोजक पण्डित क्षेत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रतियोगिता विजयीलाई पुरस्कार कति दिने भनेर फाइनल भइनसकेको र मनाङ पुगेपछि मात्र फाइनल गर्नेछौँ ।” यसअघि सन् २०१९ मा १३औँ संस्करणको यस प्रतियोगिता भएको थियो । यस संस्करणमा यसअघि चार पटक प्रथम भएका क्यानडाका कोरी वालेससमेत सहभागी भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button