
गण्डकी प्रदेश सभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले गण्डकी प्रदेशको राजधानी पोखरामा मुटु अस्पताल निर्माणका लागि पहल गर्ने बताएका छन् ।
गठबन्धनबाट साझा उम्मेदवार बनेका कास्की क्षेत्र नं. २(ख) का उम्मेदवार थापाले आफू विजयी भएमा प्रदेशका लागि विशिष्टकृत अस्पताल र मुटु अस्पताल बनाउन पहल गर्ने बताए ।
घरदैलो अभियानमा रहेका थापाले हरेक नागरिकका लागि प्रदेशमै उपचार गराउने व्यवस्था गराउनका लागि आफूले काम गर्ने बताए । ‘गण्डकी प्रदेशको राजधानी पोखरामा प्राथमिकतामा आधारमा विशिष्टकृत अस्पताल र पहिलो चरणमा विशिष्टकृत मुटु अस्पताल निर्माणका लागि पहल गर्नेछु’, थापाले भने । थापाले सरकारी कार्यालयबाट प्राप्त हुने सेवालाई प्रदेशको हक र अधिकारले भ्याएसम्म यहीबाट र संघसँग समन्वय गर्नुपर्ने ठाउँमा समन्वय गरि डिजिटल गण्डकी प्रदेशको निर्माणमा लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
पोखरा महानगरपालिका वडा ८ मा मतदाताको समस्या बुझ्न पुगेका थापालाई सोमबार स्थानीयहरुले स्वागत गरेका थिए । उक्त स्वागत देख्दा आफुलाई विजयी भएको अनुभूति भएको थापाले बताए । घरदैलोका क्रममा एक स्थानीय गोविन्द खाँडले आफुले पार्टी नहेरि व्यक्ति हेरेर थापालाई मत दिन लागेको प्रतिक्रिया दिए ।
उनले भने, ‘पार्टी होइन व्यक्तिलाई मत दिने हो । पार्टी भनेर नाङ्गो खुट्टा आएकालाई दिएर काम छैन, तिनिहरुले देशलाई कंगाल बनाए । समृद्ध भएकालाई दिँदा देश बन्ने रहेछ । त्यसैले विन्दु थापालाई हाम्रो मत जान्छ ।’ थापामा लोभलालच केही नरहेको र सहयोगको भावना रहेको व्यक्ति भएकाले सबैको मन जितेको खाँडको भनाइ थियो ।
यस्तै, स्थानीय चमेली कुँवरले पनि थापा सहयोगी भावना भएका सरल व्यक्ति रहेको सुनाइन् । उनले समाजसेवामा लाग्ने थापा यसअघि पनि कुनै सेवा सुविधा नलिइ नागरिकको सेवामा लागेकाले आफ्नो मत थापालाई नै दिने बताइन् ।





