
गठबन्धनका उम्मेदवारहरुले कास्कीका भूमिहीन सुकुम्बासीहरुले लालपुर्जा वितरण गर्ने गठबन्धन सरकारका नेताहरुलाई मत दिने मन बनाएको बताएका छन् ।
पोखरा १५ का सुकुम्बासी बस्तीका मतदाताहरुले गठबन्धन कै सरकारका पालामा आफूहरु निस्सा पाएको बताउँदै केही भूमिहीन सुकुम्बासी, भूमिहीन दलितहरुले लालपुर्जा नै पाएको हुनाले आफ्ना उम्मेदवारहरुलाई नै मत हाल्ने बताएको गठबन्धनका उम्मेदवारले दाबी गरेका हुन् ।
कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधान आफ्नो प्रतिवद्धता पत्रमै उल्लेख गरिएको जानकारी गराए । उनले सुकुम्बासीका लागि आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
पोखरा महानगरका ११ वटाका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई सहयोग पुग्ने किसिमको आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने, रोजगारी दिलाउने एवं जग्गाधनी प्रमाणपत्रपूर्जा दिलाउने उनले बताए ।
यस्तै कास्की १ (क) का उम्मेदवार विश्वप्रकाश लामिछाने संविधानमा लेखिएको मौलिम हक पूरा गर्ने बताए । आफूहरुसँग सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्ने योजना रहेकाले गठबन्धनलाई जिताउन उनको आग्रह थियो ।
गठबन्धनको सरकार बनेको समयमा नै धेरै ठाउँमा सुकुम्बासीलाई निस्सा वितरणको काम सरु गरिएको उनले सम्झिए । निस्सा लिएकाहरुलाई लालपुर्जा प्रदान गर्न पनि अब फेरी गठबन्धनकै उम्मेद्वारले जित्नुपर्ने उनले बताए ।
कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले गण्डकी प्रदेशको राजधानी पोखरामा मुटु अस्पताल निर्माणका लागि पहल गर्ने बताए । थापाले आफू विजयी भएमा प्रदेशका लागि विशिष्टकृत अस्पताल र मुटु अस्पताल बनाउन पहल गर्ने उनको भनाई थियो ।
घरदैलो अभियानमा रहेका थापाले हरेक नागरिकका लागि प्रदेशमै उपचार गराउने व्यवस्था गराउनका लागि आफूले काम गर्ने बताए । ‘गण्डकी प्रदेशको राजधानी पोखरामा प्राथमिकतामा आधारमा विशिष्टकृत अस्पताल र पहिलो चरणमा विशिष्टकृत मुटु अस्पताल निर्माणका लागि पहल गर्नेछु’, थापाले भने ।





