
आसन्न निर्वाचनअन्तर्गत पाँच दलीय गठबन्धन कास्की ३(१)का उम्मेदवार दुर्गादत्त भण्डारीले पोखरा महानगरपालिका भित्र आफ्नो क्षेत्रमा पर्ने सहरी बस्ती व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका छन् ।
मंगलबार पोखरा २ मा चुनावी घरदैलो गर्दै माओवादी नेता तथा उम्मेदवार भण्डारीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । पोखरा सुन्दर सहर भएपनि योजनावद्ध र व्यवस्थित बस्ती विकासको योजना नभएको उनको भनाई थियो । व्यवस्थित बस्तीसँगै उनले आधारभूत स्वास्थ्य सेवा जनताको अधिकार भएको उल्लेख गर्दै नागरिकलाई हरेक सेवा सुविधा लिन महेन्द्रपुल, न्यूरोड तथा चिप्लेढुङ्गा नै ध्याउनुपर्ने अवस्था प्रति आफू गम्भीर रहेको जनाए ।
भण्डारीले आफूले स्थानीय वरपाटनस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको स्तरोन्नती गर्न, विन्ध्यवासिनी मन्दिरमा धार्मिक पर्यटक बढाउन, वडाका भित्री सडकहरु स्तरोन्नती गर्न साथै वडाका विभिन्न स्थानमा पार्क निर्माणमा पनि विशेष पहल गर्ने उल्लेख गरे । उम्मेदवार भण्डारीसहितको टोलीले वडाको भुपीमार्ग, विन्ध्यवासिनी मार्ग, अर्चलबोट मार्ग, बसपार्क, पोखरावेसी मार्ग, जयमूल मार्गलगायत स्थानमा मंगलबार घरदैलो गरेको थियो ।
घरदैलोमा नेकपा एकीकृत समाजवादीमा नेता चुडामणि जंगली, नेपाली कांग्रेस वडा सभापति अरुण कायस्त, माओवादीका रुपलाल विक, कांग्रेस नेता एवम् वडा नं. २ का पूर्व अध्यक्ष रामेश्वर मल्ललगायतका गठबन्धनका नेता कार्यकर्ता सहभागी थिए ।





