कस्तो रहला आजको दिन, हेर्नुहोस् आफ्नो राशिफल

आजको पात्रो : आज कात्तिक ३० गते २०७९ साल, बुधबार । तद्नुसार नोभेम्बर महिनाको १६ तारिख २०२२ । मार्गकृष्णपक्ष अष्टमी, वालब करण, अश्लेषा नक्षत्र, ब्रह्मा योग, चन्द्रमा कर्कट राशिमा रहेको छ ।

आज बिहान सूर्योदय ६ः२६ भयो भने सूर्यास्त ६ः१२ मा हुनेछ । बुधबार गृहस्थ तथा घर मर्मत कार्यमा समय खर्च गर्दा राम्रो हुनेछ । आजका देवता ब्रह्मा र ग्रहदेव मंगल हुन् । आर्थिक कारोबारका लागि आजको दिन शुभ रहेको छ । ऋण लिनका लागि बुधबार शुभ मानिन्छ ।

फलामको सामान खरिदका लागि पनि आजको दिन शुभ रहेको छ । आज व्यापार व्यवसायमा लगानी वृद्धिको लागि उत्तम रहेको छ । आज ११ः२८ देखि १२ः१२ सम्मको समय शुभ समय हो । कुनै नयाँ काम गर्ने हो भने यो समयमा गर्न सकिन्छ । आज महिनाको अन्तिम दिन भएकाले यात्राका लागि त्यति शुभ मानिँदैन । यात्रा गर्नुपरेमा दहीको सेवन गरेर यात्रा शुभारम्भ गर्न सकिन्छ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) – तपाईले गर्नुभएको कामबाट सम्मान हुनेछ । सामाजिक सेवाबाट मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिब र भोका व्यक्तिलाई केही भोजन दिनुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) – आजको दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्टी रहन सक्छ । लामो यात्राका लागि अवसर आउनसक्छ । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु बेस हुनेछ । यात्रामा निस्कनु भन्दा पहिले नजिकै रहेको कुनै पनि देवी देवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नुभयो भने यात्रा फाइदाजनक हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) – मिथुन राशिका जातकका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ । सोचअनुसार काम हुनेछ । मनमा चिन्ता र भय छ भने पनि हट्दै जानेछ । मित्र र आफन्तलाई दिनुभएको सहयोग राशि फिर्ता हुनसक्छ । परिवारका सदस्यबाट कामको प्रशंसा हुनेछ । यात्राको अवसर आएका आजको दिन बिहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुभयो भने फलदायी हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) – धन लाभको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस् सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । स्त्रीबाट प्राप्त हुने सहयोगले काममा सफलता मिल्नेछ । सामाजिक मानसम्मान समेत मिल्नेछ । चन्द्रमाको साथ रहेको छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) – आजको दिन मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले नयाँ कामको अवसर आउने छ । आजको दिन मौन रहनु नै वेश हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नै वेश हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु होला । दाम्पत्य जीवनमा खुसियाली छाउने छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) – व्यापार व्यवसायको कामबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) – तुला राशिका जातकका लागि आजको दिन सोच अनुसार काम नहुँदा मनमा चिन्ता हुनसक्छ । सकेसम्म आजको दिन विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा अनेक आरोप आउँछन् भने तपाईलाई हानी हुनसक्ने सम्भावना धेरै रहन्छ । व्यापार व्यवसायबाट केही फाइदा हुने काम हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) – व्यापार व्यवसायबाट फाइदा हुनेछ ।  छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत कार्यप्रशंसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । आजको कुनै शिवालय र देवालयको दर्शन गरेर काम शुरु गरे सोचअनुसारको काम हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) – तपाईलाई साथ सहयोग दिने कुनै  मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिनेछ । मन्दिरमा वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिनेछ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिनेछ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) – आजको दिन आफ्नो गच्छेअनुसार भोका, गरिबलाई केही खानेकुरा दान गर्नु उत्तम छ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउनेछ । देवालय र शिवालयमा पुगेर दर्शन मात्र गर्नाले मनमा हर्ष छाउनेछ । गौमाता र भोका जनावरलाई केही खाना दिनु भयो भने तपाईलाई फाइदा पुग्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) – स्वास्थ्यमा ध्यान दिनुपर्नेछ । आज यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गरेर मात्र यात्रा गरे बेस हुनेछ । आजको दिन अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गल्ती गरेको महसुस हुनसक्छ । कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिन्छ । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) – व्यापार व्यवसायमा लागेका मीन राशिका जातकका लागि आजको दिन उत्तम छ । सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि आजको दिन सफलता मिल्नेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिँदा आशीर्वाद प्राप्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button