कास्की २ मा एमालेका ६६ प्रतिशत महिला उम्मेदवार

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ दलहरुले महिलालाई कम अवसर दिएका छन् । संसदमा एक तिहाई महिला हुनै पर्ने संवैधानिक व्यवस्था छ । समानुपातिक सूचीबाट उक्त व्यवस्था पूरा गर्नुपर्ने हुन्छ ।

गण्डकी प्रदेशभित्र एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ३ जना र प्रदेशमा ३ जना महिला उठाएको छ । सत्ताको नेतृत्वमा रहेको नेपाली कांग्रेसले गण्डकी प्रदेशबाट संघ र प्रदेश दुवैतिर महिलालाई उम्मेदवार बनाएको छैन । माओवादी केन्द्रले प्रदेश सभामा १ जना उठाएको छ । संघमा भने माओवादीबाट उम्मेदवारी शून्य छ ।

नेपालको संविधानले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ । तर संविधान निर्माणमा सहभागी दलहरुबाटै कतिपय क्षेत्रमा उक्त व्यवस्थालाई सशक्त रुपमा व्यवहारमा उतारेको नपाइएपनि कास्की क्षेत्र नं. २ मा एमालेले भने प्रतिनिधि सभा र एक प्रदेश सभा सदस्यमा मातृशक्तिलाई प्राथमिकताका साथ प्रतिस्पर्धामा उतारेको हो । यस क्षेत्रमा नेकपा एमालेबाट ६६ प्रतिशत महिला उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

कास्की निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा बौद्धिक व्यक्तित्व विद्या भट्टराई अधिकारी र २ (ख) प्रदेश सभा सदस्यमा उद्यमी व्यवसायी महिला उम्मेदवार मिना गुरुङ पाँच दलीय गठबन्धनका पुरुष उम्मेदवारसँग प्रतिस्पर्धामा उत्रिएका हुन् । नेकपा एमालेकी केन्द्रीय सदस्य भट्टराई पृथ्वीनारायण क्याम्पसबाट प्राध्यापन शुरु गरि डेढ दशक भन्दा बढी प्राध्यापन पेशामा संलग्न रहिन् । उनी लोकप्रिय युवा नेता रविन्द्र अधिकारीको धर्मपत्नी पनि हुन् ।

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि उनी त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदबाट राजिनामा दिएर २०७६ को उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेकी थिइन् । त्यतिबेला नेपाली कांग्रेसका खेमराज पौडेललाई पछि पार्दै भारी मतका साथ विजयी भएकी नेत्री भट्टराई २०७९ सालको निर्वाचनमा भने पाँच दलीय गठबन्धनतर्फ एकिकृत समाजवादी (एस) का पोलिटव्यूरो सदस्य श्रीनाथ बरालसँग प्रतिपर्धामा हुनेछिन् ।

उपनिर्वाचनमा निर्वाचित भएपछि लगत्तै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विकास निर्माणका साथै जनता माझ भौतिक रुपमा उपस्थित हुन नसकेकी भट्टराईले संसदीय अभ्यासमा भने राम्रो अनुभव लिइसकेकी छन् ।

एमालेतर्फबाटै कास्की २ (ख) प्रदेश सभा सदस्यमा उद्यमी एवम् सफल व्यवसायी महिला मिना गुरुङलाई चुनावी प्रतिस्पर्धामा उत्रिएकी छिन् । गुरुङको प्रतिस्पर्धा पनि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता एवम् गण्डकी प्रदेश सरकारका मन्त्री विन्दुकुमार थापासँग हुनेछ । नेपाल ट्रेड युनियन महासंघ(जिफण्ड) मा लामो समय नेतृत्वदायी भूमिका निर्वाह गरेकी गुरुङ गण्डकी प्रदेश सभामा समानुपातिक सांसद थिइन् । कोभिडको महामारीमा उनले श्रमिक मजदुरको चुलो बाल्ने र घरमा पठाउने काममा महत्वपूर्ण भूमिका निर्वाह गरिन् ।

एमालेले गण्डकी प्रदेश सभाको समानुपातिकतर्फ पनि मेडिकल क्षेत्रमा आबद्ध अर्की महिला उम्मेदवार वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. छममाया पुनलाई अघि सारेको छ । उनीहरु यतिखेर सँगसँगै पार्टीको घोषणापत्र, प्रदेश प्रतिवद्धतापत्र उम्मेदवार परिचय सहित मतदाताको घरदैलोमा व्यस्त छन् ।

गण्डकी प्रदेशका निवर्तमान उपसभामुख सिर्जना शर्माले राजनीतिक दलले निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ ३३ प्रतिशत महिला उम्मेदवार बनाउनु पर्नेमा जोड दिईन् । उनले सामाजिक विभेद र आर्थिक असमानताका कारण महिलाहरु राजनैतिक प्रतिष्पर्धी बन्नबाट बञ्चित भएपनि विद्या भट्टराई र मिना गुरुङ यतिखेर सिंगो आधा आकाश ढाकेका महिलाको लागि प्रेरणाका श्रोत बनेको बताइन् ।

‘सुशासनयुक्त समाज निर्माणमा पुरुषको तुलनामा महिला बढी जिम्मेवार बन्ने गएको अवसर प्राप्त गरेका महिलाको कार्य दक्षताले पुष्टि गरेको छ । उनले भनिन् ‘प्रचारको क्रममा घरदैलो कार्यक्रममा महिला उम्मेदवार देख्दा मतदातामासमेत उत्साह बढ्ने देखियो । अवसर पाए महिला पुरुष भन्दा कुनै क्षेत्रमा पनि कमी हुँदैनन् भन्ने विश्वासका साथ मुलुकका सबै राजनीतिक पार्टीले प्रत्यक्ष निर्वाचनमा ५० प्रतिशत महिलालाई उम्मेदवार बनाउनु पर्दछ ।’

निर्वाचनमा सबै राजनैतिक दलले संवैधानिक व्यवस्था अनुसार प्रत्यक्षतर्फ महिला उम्मेदवार बनाउन सकेका छैनन् । मुलुकमा विभिन्न राजनैतिक दल सहित कुल दुई हजार १२ जना उम्मेदवार मध्ये २२५ जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जसमा प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या नौ दशमलव ३३ प्रतिशत मात्र रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button