आईएनएफ नेपालले मनायो ७० औँ वर्षगाँठ

एक विशेष समारोहका बीच आईएनएफ नेपाल को ७० औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथि तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थापनाको सत्तरी वर्षसम्म आईपुग्दा आईएनएफले नेपालका ग्रामीण समुदायमा स्वास्थ्य सेवा प्रदान गर्ने, जीविकोपार्जनमा सहयोग प्रदान गर्ने र सामाजिक समावेशीतालाई प्रबर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको थियो । उहाँले पोखरालाई स्वास्थ्यको हिसाबले समृद्ध बनाउन आगामी दिनमा आईएनएफ नेपालसँग सहकार्य गरि अघि बढ्ने विश्वास लिएको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रमका सभापति एवम् आईएनएफ नेपालका अध्यक्ष रामचन्द्र तिमोथीले अग्रजको योगदानसहित ७० वर्षे गर्विलो इतिहास बोकेको संस्थाले आफ्नो गरिमालाई उच्च राख्न निरन्तर अथक प्रयास गर्दै आएकोतर्फ जोड दिनुभयो । कार्यक्रममा आईएनएफ नेपालका उपाध्यक्ष राजेन्द्र कुमार अधिकारीले स्वागत मन्तव्य राख्दै आईएनएफका संस्थापकहरुको स्मरण गर्नु भएको थियो ।

कार्यक्रममा आईएनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारीले आईएनएफ नेपालका गतिविधि र दीर्घकालीन योजनाका बारेमा प्रस्तुती राख्नु भएको थियो । संस्थाका मेडिकल सेवा निर्देशक डा. अरुण कुमार बुढाले आईएनएफ नेपालको स्वास्थ्य सेवा लगायत हरियोखर्क अस्पतालका बारेमा प्रकाश पार्नुभएको थियो ।

त्यस्तै विशेष अतिथिद्धय आईएनएफ इन्टरनेशनलका अध्यक्ष फिल लिण्ड्से र कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यस्थापन महाशाखाका प्रमुख प्रशन्न नापितले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका पुर्व निर्देशकहरु डा.एलिसन क्रेभन, डा.प्रेम सुवेदी, डा.दीपेन्द्र गौतमले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा प्रमुख अतिथि, सभापति, कार्यकारी निर्देशकलगायतबाट आईएनएफ नेपालमा विगत १० वर्ष भन्दा लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई सम्मान गरिएको थियो । साथै भारतमा आयोजित अन्तर्राष्ट्रिय ह्विलचियर प्रतियोगितामा सहभागी कर्मचारी सुरेश गौलीलाई पनि सम्मान गरिएको थियो ।

वार्षिकोत्सवकै सन्दर्भमा गत कार्तिक ४ गते गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यतमा एक विशेष समारोहको आयोजना गरी संस्थालाई उल्लेख्य योगदान पुुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई कृतज्ञतापत्र र सम्मानपत्र प्रदान गरिएको थियो । सोही प्रकृतिको कार्यक्रम नेपालगन्ज र सुर्खेतमा समेत आयोजना गरिएको थियो ।

त्यसैगरी संस्थाले कार्तिक २९ गते दातृ निकाय, पार्टनर तथा पुर्व एवम् वर्तमान विदेशी स्वयंसेवक कर्मचारीहरुलाई एक छुट्टै समारोह बीच सम्मान गरेको थियो । संस्थाको इतिहास र गतिविधि समेटिएको अङ्ग्रेजी र नेपाली भाषाका दुई वार्षिकोत्सव पुस्तक पनि प्रकाशनमा ल्याएको छ ।

४५० भन्दा बढी कर्मचारी रहेको संस्थाले स्थापनाको ७० औँ वार्षिकोत्सवका क्रममा वर्षभरि विभिन्न प्रकृतिका ७० भन्दा बढी कार्यक्रमहरू आयोजना गरिएकोे जनाएको छ । वि. सं २००९ सालमा स्थापित आईएनएफले नेपाल सरकारसँग हातेमालो गर्दै कुष्ठरोग तथा क्षयरोगको क्षेत्रमा योगदान पुर्याउदै आइरहेको छ ।

सामुदायिक स्वास्थ्य र विकासका क्षेत्रमा हरियोखर्क अस्पताल लगायत तीन अस्पतालसँगै बाजुरा, मुगु, जुम्ला, कालीकोट, सुर्खेत, बाँके, दाङ, रोल्पा, कपिलवस्तु, कास्की र गोरखा जिल्लाहरुमा अविछिन्न रुपमा संस्थाले सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button