कास्की क्षेत्र नं १ र ३ मा ११ बजेपछि मतगणना शुरु हुने

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं १ र ३ को मतगणनाको तयारी गरिएको छ ।

कास्की क्षेत्र नम्बर १ मा बिहान ९ बजे बैठक बोलाइएको र ११ बजेसम्ममा मतगणना थालिसक्ने तयारी भएको कास्की निर्वाचन क्षेत्र नं १ निर्वाचन कार्यालयका सूचना अधिकारी दीपक गिरीले जानकारी दिनुभयो । त्यसै गरि क्षेत्र नम्बर ३ मा पनि सर्वदलीय बैठक आह्वान गरिएको र बैठकपछि ११ बजेदेखि गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी राजाराम पौडेलले जानकारी दिनुभयो ।

क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट किशोरदत्त बराल, नेकपा (एमाले)का तर्फबाट मनबहादुर गुरुङ, हाम्रो नेपाली पार्टीका तर्फबाट प्रमोद आचार्यलगायतको उम्मेदवारी छ । प्रदेशसभा (१) मा गठबन्धनका दीपक कोइराला, नेकपा (एमाले)का खगराज अधिकारी, हाम्रो नेपाली पार्टीका मदन केसीलगायतको उम्मेदवारी छ भने (२) मा गठबन्धनका दीपक गुरुङ(माइला), एमालेका वेदबहादुर गुरुङ लगायतको उम्मेदवारी छ ।

त्यसैगरी प्रतिनिधिसभामा कास्की क्षेत्र नम्बर ३ मा कूल एक लाख एक हजार सात सय १५ मतदाता रहेकामा ६१ हजार छ सय १४ मत खसेको छ । यहाँ प्रतिनिधिसभामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १५ उम्मेदवार चुनावी मैदानमा छन् ।

यस क्षेत्रमा प्रतिनिधिसभामा रामजीप्रसाद बराल पाँच दलीय गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ । यसैगरी नेकपा (एमाले)बाट दामोदर पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीलगायत उम्मेदवार हुनुहुन्छ । यसैगरी प्रदेशसभा ३ (१) मा पाँच दलीय गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का दुर्गादत्त भण्डारी, नेकपा (एमाले)बाट गणेशमान गुरुङ तथा ३ (२)मा नेपाली कांग्रेसका प्रकाश बराल, नेकपा (एमाले)का राजीव पहारीलगायतका उम्मेदवार चुनावी मैदानमा रहनुभएको छ ।

कास्की जिल्लामा ६० प्रतिशत हाराहारीमा मतदान भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कास्की जिल्लामा पुरुष एक लाख ३९ हजार ४२, महिला एक लाख ५३ हजार ५२२ र अन्य चार गरी कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button