
गण्डकी प्रदेशसभा सदस्यका लागि बाग्लुङ जिल्लाबाट चार वटै सिटमा नेपाली काङ्ग्रेसले क्लिनस्वीप गरेको छ ।
बाग्लुङ जिल्लाको क्षेत्र नम्बर १(१) मा दीपेन्द्रबहादुर थापाले १३ हजार ८ सय ८४ मतसहित विजय हासिल गरे । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हिरा केसी १२ हजार ४ सय ५ मत पाए । त्यसैगरी क्षेत्र नम्बर १ कै दोस्रो प्रदेश सभा सदस्यमा डिल्लीराम सुवेदी विजयी भए । सुवेदीले १३ हजार ३ सय २० मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी एमालेका नवराज पौडेलले ७ हजार २ सय ५३ मत मात्रै पाए ।
बाग्लुङको दोस्रो क्षेत्रअन्तर्गतको पहिलो प्रदेशसभा सदस्यमा काङ्ग्रेसका जिल्ला सभापति जीतबहादुर शेरचन विजयी भए । शेरचनले १५ हजार १ सय ८ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले १२ हजार ८ मत प्राप्त गरे । घर्तीलाई नेकपा एमालेले समर्थन गरेको थियो ।
त्यसैगरी बाग्लुङ क्षेत्र नम्बर २(२) मा काङ्ग्रेस कै द्रोण कुँवर निर्वाचित भए । कुँवरले १२ हजार ४ सय ८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेका लक्ष्मण पुनले ८ हजार ६ सय ७१ मत प्राप्त गरे ।
बाग्लुङको प्रतिनिधिसभा सदस्यका लागि भइरहेको मतगणनामा क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र क्षेत्र नम्बर २ मा माओवादीका देवेन्द्र पौडेलले अग्रता लिइरहेका छन् ।