पोखरामा मनाइयो राष्ट्रिय कर दिवस, उत्कृष्ट करदाता सम्मानित

आन्तरिक राजस्व कार्यालय पोखराले विभिन्न कार्यक्रमहरूको आयोजना गरी एघारौँ राष्ट्रिय कर दिवस २०७९ मनाएको छ । “स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार” भन्ने मूल नारा सहित बुधबार एक कार्यक्रमकाबीच राष्ट्रिय कर दिवस तथा कर सप्ताह सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी टेक बहादुर के.सी.ले कर प्रशासनलाई व्यवसायीमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । यसैगरी कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत रमेश शर्माले कर प्रशासनलाई अझ मैत्रीपूर्ण बनाउँदै लगिने बताउनु भयो । प्रमुख कर अधिकृत शर्माले कर प्रशासन र करदाताबीचको सम्बन्धमा थप सुदृढ बनाउँदै करको दायरा बढाउने बताउनुभयो ।

कार्यक्रममा उत्कृष्ट करदाताहरूलाई सम्मान पनि गरिएको थियो । सम्मानित हुनेहरूमा सेवातर्फ यार्सा ल्याब्स प्रा.लि, व्यापारतर्फ अटोवेज प्रा.लि र कर्माचार्य बेक्स एण्ड फुड्स प्रा.लि. रहेका छन् । यसै गरी कार्यालयले नायब सुब्बा छाँया भट्टराईलाई पनि कार्यक्रममा सम्मान गरेको थियो ।

कार्यक्रममा प्रमुख कोष नियन्त्रक रामजी प्रसाद शर्मा, प्रमुख मालपोत अधिकृत श्री राजेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो । सप्ताह कार्यक्रम अन्तर्गत कार्यालयले प्रथम दिन मंसिर १ गते पहिलो सेवा लिन आउने करदातालाई पनि सम्मान गरेको छ ।

यसैगरी कार्यालयले कर दिवसको अवसर पारेर कर शिक्षाका सामग्रीहरू ब्रोसर, पम्प्लेट करदाताहरूलाई वितरण गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button