पोखरामा रैथाने भोजन सप्ताह तथा मःम जात्रा हुँदै

पर्यटकीय नगरी पोखरामा पर्यटन प्रबर्द्धनका लागि सप्ताहव्यापी “रैथाने भोजन सप्ताह अनि मःम जात्रा” २०७९ आयोजना हुने भएको छ ।

नेपाली खाना, जीवन शैली र संस्कृतिलाई विश्वव्यापी प्रबर्द्धन गर्न हेतुले नेपासा भोजनगृहको चौथो वार्षिकोत्सवको अवसरमा मंसिर १० गतेदेखि सो कार्यक्रमको आयोजना गर्न लागिएको नेपासाका संचालक एवम् कार्यक्रम संयोजक पाकशास्त्री कुश बहादुर भुजेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।

कुनै पनि क्षेत्रको मौलिकता र पहिचानमा स्थानीय खानाको महत्वपूर्ण भूमिका हुने र यसलाई ब्राण्डिङ गर्न सके पर्यटन प्रबर्द्धनमा ठूलो टेवा पुग्ने विश्वाससहित कार्यक्रमको आयोजना गर्न भुजेलले बताए । उनले स्थानीय रुपमा उपलब्ध हुने खाद्यान्न लगायतका वस्तुको सदुपयोग गर्दै स्वरोजगारको सृजना गरेर आर्थिक रुपान्तरणमा सहयोग पुर्याउने लक्ष्य लिइएको पनि बताए ।

कार्यक्रमका नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले हाल पोखरामा पर्यटकहरु प्राकृतिक, सांस्कृतिक तथा साहसिक गतिविधिका लागि आउने गरेको जनाउँदै अब भने यहाँको रैथाने खानालाई जोड दिएर ब्राण्डिङ गर्न सकिने बताए । उनले थाइ, इटालियन, चाइनिज जस्ता देशहरुका खाना अन्तर्राष्ट्रिय रुपमै ब्राण्डिङ भएको उल्लेख गर्दै नेपाली रैथाने खानाका स्वादलाई पनि विविधता दिन सके पर्यटनको रोजाइमा पर्न सक्ने धारणा राखे ।

पोखरा पर्यटन परिषदका उपाध्यक्ष कृष्ण भण्डारीले नेपालमा पर्यटन प्रबर्द्धनलाई विभिन्न आयामबाट जोड्न सकिने बताए । उनले नेपासाले रैथाने खानाका स्वादिष्ट परिकारका सप्ताहव्यापी कार्यक्रम गर्नु निकै प्रशंसनीय भएको जनाउँदै पर्यटकले नेपालको सांस्कृतिक विविधतालाई मन पराउने भएकाले यसै अनुसारको रैथाने खानाका परिकारमा पनि जोड दिन सके पर्यटन प्रबर्द्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

पाकशास्त्री सन्दिप खत्री नेपालका रैथाने परिकारको ब्राण्डिङ हुन नसक्दा विदेशी मेनुहरु मात्र हरेक होटल रेष्टुरेन्टमा हुने गरेको गुनासो गरे । उनले नेपालमा उत्पादित कोदो, गहुँलगायतका अन्नबाली, फलफुल, तरकारीहरुबाट थुप्रै प्रकारका खाना तयार गर्न सकिने भएतापनि यसतर्फ सरोकारवालाहरुले चासो दिन नसक्दा हरेक होटल रेष्टुरेण्टमा मौलिकता पस्किन नसकेको बताए ।

रैथाने परिकारहरुमा पूर्वी नेपालको राई लिम्बु जातिको खाना, शुन्य क्यालोरीको मःम, लोप हुँदै गरेका नेवारी खाना, प्राचिन शासक वर्गका रेसिपी, सिस्नोको आईसक्रिम, सयपत्री फूलको सस लगायत रहने संयोजक भुजेले बताए । यसका साथै क्वाँटी मःम, १५ प्रकारका अन्य मःम, स्पेशल बार्बेक्यूलगायतका परिकारहरु पनि भोजन सप्ताहमा बन्ने भएका छन् ।

आयोजकका अनुसार यो सप्ताहव्यापी कार्यक्रममा प्रख्यात सेफहरुको प्रत्यक्ष सहभागितामा रैथाने खानाका परिकारहरु बनाइने र तिनका बारेमा थप जानकारी दिइनेछ । इभेन्टमा सहभागी हुनेहरुमध्ये गोलाप्रथाद्वारा विजेता बन्ने दुई जनालाई लेकसाइडस्थित होटल रानीबन आर्केडमा १ रात दुई दिन खाना बस्नको सुविधा दिइने पनि जनाइएको छ। भाग्यशाली विजेतालाई फेवातालमा डुंगा सयर गराइने पनि आयोजकले जानकारी दिएको छ ।

कार्यक्रम अवधिमा ग्यास्ट्रोनोमी एशोशिएसन अफ सेफ संस्थाले प्रमाणपत्र वितरण गर्ने, उत्तम अभियानको रनिङ टर्च पासको अवधारणा शुरु गरिने भएको छ । सोहि अवसरमा प्रशान्त खनालद्वारा लिखित पुस्तक ‘टिमुर’ र सञ्चारकर्मी दीपेन्द्र पहारीद्वारा लिखित ‘हिप्पी टुरिजम’ पुस्तकको विमोचन गरिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button