
साइकल सिटी पोखराको आयोजनामा आउँदो पुस ७ गते देखि ९ गतेसम्म टुर दी पोखरा साइकल यात्रा हुने भएको छ । छैटौँ संस्करणको टुर दी पोखरामा सहभागी हुने खेलाडीहरुका लागि शनिबार देखि आवेदन खुल्ला हुने आयोजकले जनाएको छ ।
आयोजक टुर दी पोखराका संयोजक राजन गोङ्गजुका अनुसार साइकल सिटीको आधिकारिक फेसबुक पेज, साइकल ल्याण्ड पोखरा न्यूरोड, चालिसे साइकल सेन्टर सृजनाचोक, तामा टुसा रेष्टुरेण्ट रामबजार, रानीपौवा पेट्रोल पम्प, रानीपौवा, लुम्बिनी फोटो स्टुडियो जिरोकिलोमिटर, लान्द्रुक आयल डिष्ट्रिब्यूटर्स हरिचोक लगायतका स्थानबाट सहभागी हुन इच्छुक खेलाडीहरुले आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।
अघिल्ला दुई वर्ष कोरोनाको कारण स्थगित भएको उक्त इभेण्टलाई यस वर्ष भव्य एवम् सभ्य रुपमा सम्पन्न गर्न आफुहरु विभिन्न संघ संस्थाका पदाधिकारीहरुसँग चरणबद्ध छलफलमा जुट्दै आएको संयोजक गोङ्गजुले जनाए । टुर दी पोखराको पूर्व सन्ध्यामा पुस ६ गते पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगितासमेत आयोजना हुन लागेको समितिका अध्यक्ष दीपक गोदारले बताए ।
करिब २० किलोमिटर दुरीको साइकल दौड प्रतियोगिताका विजेतालाई नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए । स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल भन्ने नाराका साथ साइकल सिटीले टुर दी पोखरा कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको छ ।
कार्यक्रममा देशका विभिन्न भागबाट साइकल यात्रीहरू सहभागी हुने भएको पोखरा साइकल सिटीका अध्यक्ष अभिषेक कोइरालाले बताए । ७२ किलोमिटर दुरीको टुर दी पोखरालाई फ्रान्समा हुने साइकल टुर कै झल्को दिने गरी बाग्लुङको कालिका मन्दिरबाट पोखराको विन्ध्यावासिनी मन्दिर जोड्ने गरी यात्रा हुने भएको संयोजक गोङ्गजुले जनाए ।
कम्तिमा एक दिन भएपनि साइकल चढेर पेट्रोलियम खपत घटाउने अभियान आफुहरुले सुरु गर्ने बताएका उनले अब साइकलको प्रयोगलाई प्रथामिकता दिनुपर्नेमा जोड दिए । पुस ७ गते हुने उक्त साइकल यात्रामा काठमाडौँदेखि देशका विभिन्न शहरबाट सहभागीहरुले भाग लिने आयोजकको दाबी छ ।
टुरको समापन दिन अर्थात् पुस ९ गते पोखरामा करिब १९ किलोमिटर साइकल र्याली साथै रक्तदान कार्यक्रम पनि गरिने साइकल सिटी पोखराका पूर्व अध्यक्ष प्रकाश बज्राचार्यले बताए । उक्त साइकल र्यालीमा करिब १ हजार ५ सय जना सहभागी हुने अपेक्षा गरिएको पनि उनले जनाए ।
पोखराको प्रदर्शनी केन्द्रबाट सुरु भई उक्त र्याली पोखराका विभिन्न भाग परिक्रमा गरी प्रर्दशनी केन्द्रमै पुगेर समापन हुने कार्यक्रम छ । कार्यक्रमलाई सफल पार्न साइकल सिटी पोखराले पोखराका विभिन्न संघ संस्थाका पदाधिकारीहरुसँग छलफल गरेको छ ।





