
आजको पात्रो : आज मङ्सिर १७ गते २०७९ साल, शनिबार । तद्नुसार डिसेम्बर महिनाको ३ तारिख २०२२ । मार्गशुक्लपक्ष दशमी तिथि, उत्तरभाद्रपदा नक्षत्र, वणिज करण, व्यतिपात योग, चन्द्रमा मीन राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः३९ मा भयो भने सूर्यास्त ०५ः०८ मा हुनेछ ।
आज शनिबार भएकाले पिपलको वृक्षमा जल अभिषेक गर्नु उत्तम हुनेछ । शनिदेवको उपासना गर्नुहोला । आजबाट पञ्चक समाप्त भएको छ । शनिबार फलामको सामान खरिद गरेर दान गर्नु उत्तम हुनेछ । आज बिहान ११ः ३३ देखि १२ः १५ सम्मको समय उत्तम रहेको छ । यो समयमा शुभकार्य गर्न सकिन्छ । शनिबार यात्रा गर्नु त्यति राम्रो मानिदैन ।
आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) – आज व्यापार व्यवसायबाट लाभ हुनेछ । परिवारका सदस्यबाट साथ सहयोग पाउने सम्भावना रहेको छ । तपाईको कार्ययोजना सफलताका लागि आफन्तजनको सहयोगबाट शुभ कार्य हुनेछ । यात्रामा निस्कनुभन्दा पहिले कन्यालाई दक्षिणा दिएर निस्कदा राम्रो हुनेछ । पूर्वदिशातर्फ यात्रा नगर्नु होला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) – वृष राशिका जातकका लागि आजको दिन व्यापार व्यवसायमा सोचेअनुसार नहुन सक्छ । तपाई सकारात्मक भएर आफ्नो नियमित काममा लाग्नुहोला । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना बन्नेछ । शैक्षिक काम थाँती रहे सम्पन्न गर्ने उत्तम समय रहेको छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) – परिवार र आफन्तजनले तपाईमाथि स्नेह गर्नेछन् । परिवारका सदस्यबीच आपसमा सद्भाव हुने कार्य गर्नुहोला । आज बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । तपाईको शुभ दिन रहेको छ । आज व्रत बस्नुभयो भने मनमा प्रसन्नता छाउने छ । सामाजिक सेवाको काम गर्दा तपाईलाई मानसम्मान समेत मिल्नेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) – पारिवारिक तनावका कारण तपाईलाई केही समस्या आउनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने हानी हुनसक्छ । शनिवार गृहस्थ कर्ममा समय दिनु उत्तम हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) – आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भए पनि क्रमिक सुधार हुनेछ । यात्राबाट खुसियाली छाउनेछ । परिवारको साथ सहयोगले मनमा प्रसन्नता छाउनेछ । आजको दिन व्रत बस्नु र मौन रहनु निकै लाभदायक हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) – मनमा रहेको चिन्ता हटदै जानेछ । तपाईको कारण आफन्तसँग सम्बन्ध बिग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलता प्राप्त हुनेछ । आज स्त्रीको साथ सहयोगबाट कार्य गर्दा उत्तम हुन्छ । कुमारी कन्यालाई केही खानेकुरा र वस्त्र दान दिनु होला । आज जेष्ठ सदस्यबाट आशीर्वाद लिए कार्य सफल हुनेछ ।
तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) – आजको दिन तपाईको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारिता र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) – यात्राको अवसर आएपनि यात्रा गर्दा सोच विचार गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक हानी हुने सम्भावना छ । आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । सकारात्मक सोच र नियमित काममा समय खर्चनुहोला । मौन रहनु उत्तम हुनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) – आजको दिन आकस्मिक धनलाभ हुनेछ । सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट पनि साथ सहयोग हुनेछ । तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाको कार्यमा लाग्नु होला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) – आजको दिन अध्यात्म साधना र चिन्तनले मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मानसम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाई माथि अनावश्यक आरोप पनि लाग्न सक्छ । नियमित काममा लाग्नुहोला । नयाँ कामको थालनी नगर्नु होला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) – सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । सामाजिक सेवाका काम गर्नु होला । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । कुमारी कन्यालाई खानेकुरा र वस्त्र दान दिनुभयो भने आशीर्वाद मिल्नेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) – बिहान उठेर सूर्योदयको दर्शन गर्नुहोला । कामको समीक्षा र आगामी हप्ताको कार्ययोजना बनाउनु होला । अध्ययन, अनुसन्धान र लेखनको काममा समय दिनु भयो भने उत्तम हुनेछ । यात्राको अवसर पनि आउनसक्छ । स्वास्थ्यमा ख्याल गर्नुहोला । देवालयको र गुरुजनको आशीर्वादका लागि गुरुसेवा गर्दा फल प्राप्त हुनेछ ।





