स्याङ्जा २ मा काङ्ग्रेसका गुरुङ विजयी

यही मङ्सिर ४ गते प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार शनिबार अबेर सकिएको मतगणना अनुसार गुरुङले ३१ हजार ४ सय ६६ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पद्मा अर्यालले २५ हजार ८ सय ३९ मत पाइन् । यसै गरी तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार १ सय १३ मत पाए ।

स्याङ्जा २ मा कुल १ लाख १६ हजार ६ सय ७८ मतदाता रहेकाेमा ७० हजार १ सय ९१ मत मात्रै खसेको निर्वाचन कार्यालयले जनाएको छ । यसअघि २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा स्याङ्जा २ मा एमालेकी पद्मा अर्याल विजती भएकी थिइन् ।

मतदानका क्रममा नेपाली काङ्ग्रेसले केही मतदान केन्द्रमा बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो । निर्वाचन आयोगले १४ मंसिरमा पुनः मतदान नगर्ने निर्णय गरेपछि मतगणना सुचारु गरिएको थियो ।

स्याङ्जा २ अन्तर्गतको प्रदेश सभामा मध्ये क्षेत्र (१) बाट काङ्ग्रेसका भोजराज अर्याल र (२) बाट काङ्ग्रेस कै महेश भट्टराई निर्वाचित भइसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button