पर्वतीय महोत्सवका अवसरमा आयोजित चित्रकला प्रतियोगिता सम्पन्न

सातौँ पर्वतीय महोत्सवअन्तर्गत अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजित अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

पोखरामा हुने ७ औँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको पूर्वसन्ध्यामा नेपाल पर्वतारोहण संघ र पर्वतीय संग्रहालय उक्त प्रतियोगिताको आयोजना गरेका थिए ।
प्रतियोगितामा ३३ विद्यालय प्रतियोगितामा सहभागी भएको महोत्सव मूल आयोजक समितिले जानकारी दिएको छ । पोखराका विभिन्न विद्यालयमा ८ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीलाई चित्रकलामा सहभागी गराइएको थियो ।

संग्रहालयकी निर्देशक तथा महोत्सव मूल आयोजक समिति सदस्य सचिव निर्मला न्यौपानेका अनुसार प्रतियोगिताको नतिजा महोत्सव उद्घाटनको दिन २४ गते सार्वजनिक गरिने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीलाई उद्घाटनको दिन प्रमुख अतिथिबाट पुरस्कार वितरण गरिने जनाइएको छ । चित्रकलाको निर्णायक मण्डलमा मनोज तामाङ, शान्तकुमार श्रेष्ठ र हरेराम जोजिजु छन् । प्रतियोगितामा पर्यटन परिषद्का सञ्जयकान्त सिग्देल पनि सहभागी थिए ।

डिसेम्बर ११ लाई अन्तराष्ट्रिय पर्वतीय दिवसको रुपमा मनाउन थालेपछि पर्वतारोहण संघले हरेक वर्षदेखि पोखरा अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा महोत्सव आयोजना गर्दै आएको छ । मंसिर २४ र २५ गते गरि दुई दिन हुने ७ औँ महोत्सवमा यसपटक पर्वतीय वातावरण, जैविक विविधता, प्राकृतिक स्रोत लगायतका विषयमा जोड दिइएको छ ।

‘वुमन मुभ माउन्टेन’को नारासहित मनाउन लागिएको महोत्सवमा यसवर्ष पनि विभिन्न कार्यक्रम र प्रतियोगिता हुने जनाइएको छ । महोत्सवमा हिमाली क्षेत्रमा हुने खेललाई प्राथमिकतामा राख्दै धनुषवाण (आर्चरी), छेलो लगायतका खेल कार्यक्रम पनि राखिएको छ । यो बाहेक महोत्सवमा सडक दौड, साइक्लिङ प्रतियोगिता पनि हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button