
१७ औँ प्याब्सन स्पोर्टस मिट २०७९ अन्तर्गत पोखरामा सिनियर र जुनियरतर्फ फुटबल प्रतिस्पर्धा सुरु भएको छ ।
निजी तथा आवासीय विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्टस मिटअन्तर्गत बुधबारबाट फुटबलका प्रतिस्पर्धाहरु सुरु भएका हुन् । प्रतियोगिताअन्तर्गत सिनियर र जुनियरतर्फ गरी २० खेलहरु सम्पन्न भएको प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले जानकारी दिएका छन् । प्रतियोगितामा जुनियर फुटबलतर्फ ५६ टिम र सिनियर फुटबलतर्फ ६९ टिमको सहभागिता रहेको छ ।
सिनियरतर्फ गौरी शंकर खेल मैदानमा सम्पन्न खेलहरुमा पोखरा लनर्सले नेपाल आदर्श विद्यालयलाई ५-४ ले, हिल पोइन्टले इडेनलाई ३-१ ले, हिमाञ्चलले न्यू मोडललाई २-० ले, ग्लोबलले बेसलाइन एकेडेमीलाई ३-२ ले र भ्यू पोइन्टले केल्सलाई ७-० गोलअन्तरले पराजित गरेका छन् ।
त्यसैगरी सिनियरतर्फ नै आदर्श क्लब खेल मैदान लेखनाथमा सम्पन्न खेलमा पोखरा युनाइटेडले रिभरडेललाई ३-० ले, बाल विद्याले लेखनाथ विभुतिलाई ३-२ ले, सरस्वतीले फेवा पब्लिकलाई १-० ले, विद्या निकेतनले भाष्करलाई ५-१ ले, गोल्डेन नेचरले सूर्योदयलाई २-० गोल अन्तरले पराजित गर्न सफल भएका छन् ।
प्रतियोगिता छात्र जुनियरतर्फ शान्तिदिप खेल मैदानमा सम्पन्न खेलमा टप्स, शिशु कल्याण, मेट्रोपोलिटन, बेसलाईन र पोखरा एकेडेमी आ–आफ्नो खेलमा विजयी बन्न सफल भए । त्यस्तै नेपाल आदर्श खेल मैदानमा सञ्चालन भएको खेलमा एक्स आर्मी, मनकामना, सरस्वती, गोल्डेन नेचर र इडेन्स माविले पहिलो चरणमा जित हासिल गरेका छन् ।
१७ औँ संस्करणको प्याब्सन स्पोर्टस मिटको उद्घाटन यहि मङ्सिर २५ गते पोखरा रंगशालामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष मथुरा पौडेलले जानकारी दिए । प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूकाबीच छात्र-छात्रा भलिबल, छात्र-छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्सजस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्याब्सन कास्कीले जनाएको छ ।
प्रतियोगिताअन्तर्गत भलिबल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेबुल टेनिस सिङ्गल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेबुल टेनिस छात्र डबल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहनेछ । त्यसैगरी ट्याक एण्ड फिल्ड इभेन्टमध्ये एथलेटिक्सतर्फका विभिन्न इभेन्टमा छात्रतर्फ ६५ र छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिइन् ।
१७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिब ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आबद्ध रहेका छन् । संस्थामा आबद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको सचिव पुष्पराज पराजुलीले बताए ।





