पर्वतीय महोत्सवको आज अन्तिम दिन

पोखरामा जारी सातौँ पर्वतीय महोत्सवको आज समापन हुने भएको छ ।

पर्वतीय दिवसको अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजना भएको पर्वतीय महोत्सव शनिबारदेखि सुरु भएको थियो । नेपाल पर्वतारोहण संघले आयोजना गरेको महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले गरेका थिए । उपराष्ट्रपति पुनले उद्घाटन कार्यक्रममा बोल्दै पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा रहेको बताए ।

अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा भनेको पर्यटन विकासमा भने रणनीति र कार्ययोजना आवश्यक रहेको उनको भनाइ थियो । ‘विश्वसामु नेपालको चिनारी र गौरव तथा नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको पर्वतीय पर्यटन विकासका लागि धेरै कार्य गर्नुपर्नेछ,’ पुनले भने, ‘नेपाल भ्रमण वर्ष प्रभावित भएको सन्दर्भमा नेपालको समग्र पर्यटन विकासका लागि नयाँ पर्यटन रणनीति तथा एकीकृत कार्ययोजना आवश्यक देखिन्छ ।’

पर्यटन विकासमा रणनीति आवश्यक रहेको भनाइ राखेका पुनले विशेषगरी पर्वतीय पर्यटनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । पर्वतीय पर्यटनले हिमाली क्षेत्रमा बसोबास गर्ने भाषा, संस्कार, संस्कृति बुझाउन पनि भूमिका खेल्ने विचार उपराष्ट्रपति पुनले राखे ।

‘डिसेम्बर ११’लाई लक्षित गरि प्रत्येक वर्ष आयोजना हुने यस महोत्सव दुई दिन चल्ने गर्दछ । हिजो महोत्सवको पहिलो दिन विभिन्न खेल तथा कार्यक्रमहरु भएका थिए । महोत्सवमा छेलो हान्ने प्रतियोगितादेखि धनुषवाणको खेल भएको थियो । शनिबार नै ‘पर्वतीय वातावरण संरक्षणमा महिलाको भूमिका’ र पोखरामा तीनवर्षमा दोब्बर पर्यटक भित्र्याउने विषयमा छलफल कार्यक्रम पनि भएको थियो ।

‘पर्वतीय वातावरण संरक्षणमा महिलाको भूमिका’ विषयक कार्यक्रममा चारजना महिला आरोही वक्ता थिए । आरोही लाक्पा फुटी शेर्पा, पुर्णिमा श्रेष्ठ, फुन्जो लामा र फुरदिकी शेर्पाले कार्यक्रममा बोलेका थिए । कार्यक्रमको विषय माथि छलफल गर्दै चारै आरोहीको वातावरण र हिमाल संरक्षण गर्नु आफ्नै जिम्मेवारी रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै पुर्णिमाले आफूले चढिसकेको हिमाल चारवर्ष पछि फेरि चढ्न लाग्दा जलवायु परिर्वतनका कारण हिमाल हिउँविहीन हुन लागेको बताइन् । उनले समयमै यसविषयमा गम्भीर नबने सेताम्मे हिमालहरु कालो पत्थरको रुपमा मात्रै रहन सक्ने बताइन् ।

‘हिमाल पहिलाभन्दा धेरै पग्लिराखेको छ । चारवर्ष धेरै परिवर्तन देखेँ । विशेषगरि खुम्बुक्षेत्रमा धेरै परिवर्तन देखेँ । यसलाई सिरियस इस्युका रुपमा लिएन भने दिन प्रतिदिन हिमाल कालो पथर बन्दै जानेछ,’ आरोही पूर्णिमाले भनिन् । यस्तै विलासिन पूर्ण एक्सपेडेसन कम्पनीको सेवाले पनि हिमालको वातावरणमा असर पुर्याएको बताउँछिन्, अर्की आरोही फुरदिकी शेर्पा । ‘आइसफल हटाएर चौर बनाएर एजेन्सीहरुले सुविधा दिएछ । ठुलोठुलो कम्पनीहरुले त्यस्तो नगरे हुन्थ्यो । काठमाडौँको ट्याक्सीले त्यती काम पाउँदैन जति हाम्रो क्षेत्रमा हेलीले पाउँछ,’उनले बताइन् ।

पहिलो कार्यक्रमपछि पोखरामा तीनवर्षभित्र कसरी दोब्बर पर्यटन भित्रयाउन सकिन्छ विषयमा छलफल भएको थियो । छलफलमा पोखरा महानगरका प्रमुख धनराज आचार्य र नेपाल पर्यटन बोर्डको निर्देशक धनञ्जय रेग्मी सहभागी थिए । छलफल कार्यक्रममा बोल्दै प्रमुख आचार्यले सञ्चालनमा आउने अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटक भित्र्याउन ठूलो भूमिका खेल्ने विचार राखे ।

संयुक्त राष्ट्र संघले यसवर्षको पर्वतीय दिवस ‘वुमन मुभ माउन्टेन्स्’को नारासहित मनाउँदै छ । उद्घाटन समारोहमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button