हिमाली भेगमा पर्यटन धान्ने महिला सम्झदै सकियो सातौँ पर्वतीय महोत्सव

अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना भएको ७ औँ पर्वतीय महोत्सव आइतबार सकिएको छ । नेपाल पर्वतरोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले आयोजना गरेको महोत्सव दुई दिन चलेको थियो ।

महोत्सवको दोस्रो दिन आइतबार ‘वुमन मुभ माउन्टेन’, ‘सगरमाथा आधार शिविर व्यवस्थापन’, पर्वतीय पर्यटनको अवस्था र चुनौतीलगायत विषयबारे बहस भए । आइतबार एभरेस्ट बेसक्याम्प व्यवस्थापन विषयमा अन्तरक्रिया कार्यक्रम भएको थियो । सो सेसनमा दर्शक तथा सरोकारवाला निकायको सुझावपछि बेस पर्वतारोहण संघका अध्यक्ष निमा निरु शेर्पाले क्याम्पको समस्या दिर्घकालीन रुपमा समाधान गर्नका लागि अध्ययन भएको जानकारी समेत दिए । ‘अहिले हामीलाई सगरमाथा बेसक्याम्प सार्न कार्यक्रम गरेको आरोप लागिरहेको छ । त्यस्तो होइन, हामी त्यसैलाई कसरी व्यवस्थापन गर्ने विषयमै केन्द्रित छौं,’ उनले भने ।

अन्तरक्रिया कार्यक्रममा मिलन तामाङले जुग्ल हिमालको विषयमा प्रस्तुति दिएका थिए । जुगल हिमाल काठमाडौंबाट नजिक रहेपनि बेवास्तामा परेको उनको भनाइ थियो । ‘छोटो छुट्टि भएकाहरुलाई जुगल हिमाल ट्रागेट गर्दा निकै पोटेन्सियल देखिन्छ । प्रचारप्रसारको काम अझै बाँकी छ । काठमाडौँबाट जम्मा केही मिटर पर छ । तरपनि त्यो छायाँको रुपमा देखिएको छ,’ उनले भने, ‘सिन्धुपाल्चोकमा रहेको हिमाल छायाँमा परेको हुनाले हामीले केही समय अघिदेखि यसबारे अध्ययन गर्यौँ । त्यसपछि पनि हामीले निरन्तर काम गर्दै आयौं ।’

यस्तै ‘वुमन मुभ माउन्टेन’नाराका विषयमा पनि अन्तरक्रिया कार्यक्रम भएको थियो । पोखराका विभिन्न कलेजमा अध्ययनरत पाँच जना छात्रालाई वक्ताको रुपमा बोलाइएको थियो । संयुक्त राष्ट्र संघले यसवर्षको पर्वतीय दिवसलाई ‘वुमन मुभ माउन्टेन’को नारा सहित मनाउने निर्णय गरेको हो ।

सोही विषयमा वक्ताका रुपमा आएका वर्षा गुरुङ, रोशनी शाही, सरुना केसी, शोभा पुन र सिर्जा तन्दुकरले आफनो विचार राखे । हिमाली क्षेत्रमा पर्यटन व्यवसाय धानेका महिलाको उदाहरण दिँदै सरुना केसीले हिमाली क्षेत्र जोगाउने कार्यभार महिलाले पनि गर्न सक्ने बताइन् ।

‘हिमाली क्षेत्रमा पर्यटक जाँदा साँझ सांस्कृतिक कार्यक्रम गरेर संस्कृति जोगाउने महिला हुन् । पर्यटकलाई आवश्यक भएको लजिङ र फुडिङको व्यवस्थापन गर्ने उनै महिला हुन्,’ सुरुनाले भनिन्, ‘पछिल्लो समय रोजगारीका कारण पुरुषहरु बाहिर जाने क्रम बढी छ । हिमाली क्षेत्रमा संस्कृति जोगाउँदै महिलाहरु बसिरहनुभएको छ ।’

हिमाली क्षेत्रका विषयलाई प्राथमिकतामा राख्दै आयोजना भएको महोत्सवमा विभिन्न कार्यक्रम समावेश गरिएको थियो । छेलो हान्ने प्रतियोगितादेखि अन्तरविद्यालय चित्रकला प्रतिस्पर्धा राखिएको थियो । छेलो हान्ने प्रतियोगितामा प्रथम हुँदै रोहित सुनारले २५ हजार र प्रमाणपत्र जितेका छन् ।

यस्तै द्वितीय हुँदै किरण सुनारले १० हजार र तृतीय हुँदै बादल गुरुङले ५ हजार नगद प्राप्त गरेका छन् । अन्तरविद्यालय चित्रकला प्रतिस्पर्धामा कुमुदिनी होम्सकी अभिषना पालिखे प्रथम भएकी छिन् । दोस्रोमा सिर्जना विद्यालयका लक्ष्मण पौडेल र तेस्रो कृपा गुरुङ भएकी छिन् ।

महोत्सवमा भाग लिएका विद्यार्थीदेखि हिमाली क्षेत्रको परिकार प्रर्दशनमा राख्ने सबैलाई अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयकी निर्मला न्यौपानेले धन्यवाद दिएकी छन् । ‘महोत्सवमा उपस्थिति भएर सफल बनाउने सबैलाई धन्यवाद । पर्वतीय दिवसको अवसरमा हरेक वर्ष आयोजना हुने महोत्सव भव्यतका साथ सम्पन्न भएकोमा खुशी लागेको छ,’ उनले भनिन्, ‘पर्वतीय दिवसको नारा जस्तै र अघि भर्खर प्यानलमा वक्ताहरुले भने जस्तै हिमाल संरक्षणको लागि महिलाको भूमिका महत्वपूर्ण छ ।’

यस्तै संघका सल्लाहकार डा. गणेश गुरुङले पर्वतीय महोत्सवले हिमाली क्षेत्रबारे ज्ञान दिन मद्दत गर्ने बताए । पोखरामा महोत्सवको सिजन भएकाबेल सबैभन्दा राम्रो र ज्ञानपूर्ण महोत्सव पर्वतीय महोत्सव रहेको गुरुङले उल्लेख गरे । ‘हाम्रो यो महोत्सव पोखराका महोत्सव भन्दा फरका । पहिलो यहाँ हामी शूल्क लिँदैनौ । यो आम्दानीको लागि होइन । यो महोत्सव ज्ञान बाड्नको लागि हो । यसले हिमाली क्षेत्रको विषयमा महोत्सवमा आउने व्यक्तिलाई धेरै विषयमा सिकाउँछ,’ डा. गुरुङले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button