बाग्लुङको काठेखोलामा श्रीमेहर गणको निःशुल्क स्वास्थ्य शिविर

श्रीमेहर गण घोडाबाँधेले बाग्लुङको काठेखोला गाउँपालिकाको त्रिपुरेश्वर महादेव मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

मन्दिर परिसरमा आयोजित ७ दिने बिहुँकोट धार्मिक महोत्सवको अवसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको नेपाली सेनाको श्रीमेहर गण बाग्लुङका गणपति देवभक्त माडी श्रेष्ठले जानकारी दिनुभयो । बाग्लुङ सँगै छिमेकी जिल्लाबाट महोत्सव अवलोकन गर्न आएका श्रद्वालु भक्तजनहरुलाई  लक्षित गरि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको श्रेष्ठले बताउनुभयो ।

शिविरमार्फत भौगोलिक विकटता अनि स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ निःशुल्क स्वास्थ्य उपचार सञ्चालन तथा औषधी वितरण गरिएको थियो । शिविरबाट सामान्य प्रकृतिका २ सय ५८ जना पुरुष, ३ सय ५३ जना महिला, ९८ जना बालबालिका र अन्य जटिल प्रकृतिका रोगका बिरामीहरु गरी ७ सय ९ जना बिरामीहरु लाभान्वित भएको बताईएको छ ।

केहि गम्भीर प्रकृतिका बिरामीहरुलाई भने थप उपचारको लागि रिफरसमेत गरिएको थियो । महोत्सव स्थलमा श्रीमेहर गणले हेलिप्याड निर्माण लगायत अन्य व्यवस्थापकीय कार्यमा सहजीकरण गरिदिएको थियो ।
श्रीमेहर गणद्धारा आयोजना गरिएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा डाक्टर अधिकृत सहितको श्री नम्बर २३ फिल्ड एम्बुलेन्स गुल्म, काठेखोला गाउँपालिका स्वास्थ्य शाखा, बाग्लुङ नगरपालिकाले समन्वय र सहकार्य गरेका थिए ।

यस प्रकारको कार्यले आम नागरिक माझ नेपाली सेनाप्रति सकारात्मक सन्देश प्रवाह भई समग्रमा नागरिक र सैनिकबीचको सम्बन्ध थप प्रगाढ बनाउन टेवा पुग्ने नेपाली सेनाले बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button