आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यती एयरको प्रदर्शन उडान

निजी क्षेत्रको हवाई संस्था यती एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने तयारी गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय क्षेत्र पोखरामा आगामी जनवरी १ तारिखदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै यती एयरलाइन्सले आज बिहीबार प्रदर्शन उडान गर्न लागेको हो ।

एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे एटिआर–७२ विमानमार्फत प्रदर्शन उडान गर्न लागेको जानकारी दिनुभयो । उडान भर्ने तयारीस्वरुप एयरलाइन्सले नयाँ विमानस्थलबाट उडान गर्न आवश्यक जनशक्ति तयारी गर्ने, आवश्यक तालिम दिने, भूमिस्थ उपकरण व्यवस्थापन गर्ने र विमानस्थलस्थित अफिस तयारी गर्ने आन्तरिक कामलाई तीव्र बनाएको छ ।

यती एयरलाइन्सले चालक दलका सदस्यलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एयरलाइन्सको आन्तरिक तयारीका लागि उडान भर्न लागेको प्रवक्ता बर्तौलाले बताउनुभयो । यसरी हुने उडानले चालक दलका सदस्यलाई नयाँ विमानस्थलको वस्तुस्थिति जानकारी हासिल गर्न सहज हुने सो एयरलाइन्सले जनाएको छ ।

काठमाडौँबाट पोखराका लागि यतीले दैनिक सातवटा उडान गर्दै आएको छ भने अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नियमित उडानको सङ्ख्या थप गर्ने र पोखराबाट अन्य विमानस्थलमा क्षेत्रीय उडान गर्ने तयारी गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button