साङ्गीतिक प्रस्तुतिका लागि पोखरा आइपुग्यो नेपथ्य समूह

मंगलबार हुन लागेको साङ्गीतिक प्रस्तुतिका लागि नेपथ्य समूह पोखरा आइपुगेको छ ।

अमृत गुरुङलगायत मञ्चमा उपस्थित हुने छ जना कलाकार साथै प्राविधिक र व्यवस्थापनसहित ७० जनाको विशाल नेपथ्य टोली आइतबार बेलुकी पोखरा आइपुगेको हो । पाँचवटा ट्रक र दुईवटा बसहरुमा आइपुगेको यो टोलीलाई आइतबारै पोखराका मेयर धनराज आचार्यले स्वागत तथा सम्मान गरेका थिए । त्यस अवसरमा मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीलगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यसपटकको देश दौडाहामा नेपथ्यले बिराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगंज, धनगढी, वीरेन्द्रनगर सुर्खेत र बुटवलमा भव्य कन्सर्ट प्रस्तुत गरिसकेको छ । पोखराबाटै उदाएको नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवापुस्तामाझ लोकप्रिय लोक रक संगीत टोली हो । यसपटकको महिनादिन लामो नेपाल भ्रमण अन्तर्गत गृहशहर पोखरामा नवौँ प्रस्तुति दिन लागेको हो ।

कार्यक्रम पुस १२ गते मंगलबार बेलुकी ४ बजे स्थानीय नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’मा हुनेछ । पोखरामा यसअघि नेपथ्यले संस्थागत रुपमै आठपटक आफूलाई प्रस्तुत गरिसकेको छ । राजधानी काठमाडौं उपत्यकापछि सबैभन्दा बढी ब्याण्डले आफूलाई पोखराको भूमिमै उभ्याएको छ ।

ब्याण्डले यसअघि  ‘शान्तिको लागि शिक्षा’ अभियान बोकेर पाँच पटक आफूलाई यहाँ प्रस्तुत गरेको छ भने यसपटक नयाँ अभियान ‘मानवताको लागि संगीत’ अन्तर्गत यो पहिलो कन्सर्ट हुनेछ । संगीतका साथसाथै मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गर्दै हिँडेको हो । यस क्रममा ब्याण्डले नेपालको पुर्वदेखि पश्चिमसम्म गरेर दस स्थानमा कन्सर्ट आयोजना गर्नेछ ।

मंगलबारको प्रस्तुतीका लागि प्रदर्शनी केन्द्र मैदानमा मञ्च बनाउने काम धमाधम सुरु भइसकेको छ । सोमबार बेलुकी त्यहाँ आवाज तथा प्रकाश इत्यादिको परिक्षण गरिने जनाइएको छ । मञ्च तथा प्रविधिका हिसाबले यो प्रस्तुति अहिले विश्वभर प्रचलित आधुनिक रक कन्सर्टको अवधारणालाई पालना गरेको कार्यक्रम हुने पनि ब्याण्डले जनाएको छ । उक्त स्तरलाई कायम गर्नकै निम्ति कलाकारबाहेक पनि ठूलो संख्यामा प्राविधिक तथा व्यवस्थापन टोलीले साथमा यात्रा गर्नुपरेको ब्याण्डको भनाई छ । यस

कन्सर्टको लाभांसले मानवता प्रबर्द्धनका साथै पोखरामा आश्रमको आफ्नै शाखा भवन बनाउने उद्देश्य लिइएको छ । त्यसैगरि कार्यक्रमको आम्दानीबाट बेसहाराहरुको खाना, नाना र छानाका निम्ति अक्षयकोषको पनि स्थापना गरिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button