बेगखोलामा मोटरेबल पुल बन्दै, निर्धारित समय अगावै निर्माण सक्ने लक्ष्य

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा मोटरेबल पुल निर्माणले तीव्रता पाएको छ । सडक विभागमार्फत योजनाको ठेक्का लिएका निर्माण व्यवसायीले निर्धारित समयभन्दा अगावै योजना सम्पन्न गर्ने गरी निर्माणकार्यलाई गति दिएका हुन् । बेगखोलामा आएको बाढीले बेलिब्रिज बगाएपछि विगत छ वर्षदेखि बेगखोलामा यात्रु र सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर बेनी–जोमसोम कोरला सडकअन्तर्गत पर्ने बेगखोखोलामा सडक विभागअन्तर्गत रहेको पुल महाशाखा काठमाडौँले ७० मिटर लामो र ११ मिटर चौडाइ भएको डबल स्पामको पुल निर्माणका लागि योजना अघि बढाएको हो । विभागसँग बिओकेआई–हिमालयन जेभीलेसँग भ्याटसहित रु आठ करोड ३० लाखमा २०७८ असार २९ गते ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौतालगत्तै ठेकेदार कम्पनी कार्यक्षेत्रमा खटिएर निर्माणमा जुटेको थियो ।

पुल निर्माणका लागि सम्झौता गरेको निर्माण कम्पनीले उल्लेख्य मात्रामा मजदुर र उपकरण परिचालन गरेर निर्माणकार्यलाई तीव्रता दिएको छ । योजनाको अनुगमन र सुपरीवेक्षणको जिम्मा पाएको पुल सेक्टर पोखराका इञ्जीनियर आशिक रिजालले तोकिएको समयभित्र पुल निर्माण सम्पन्न गर्न कार्यालयका तर्फबाट नियमितरूपमा निर्माण कम्पनीलाई ताकेता गरिएको बताउनुभयो ।

निर्माण कम्पनीले उपकरणसहित मजदुर जुटाएर पुल निर्माणलाई गति दिएका पाइएको उहाँले बताउनुभयो । वर्षात्का समयमा बेगखोलामा पुल नहुँदा सर्वसाधरणले निकै सास्ती र दुःख भोगेका कारण पुल समयमै सम्पन्न गर्न कार्यालयले प्राथमिकताका साथ काम गरेको उहाँको भनाइ छ ।

अहिलेसम्म करिब ४५ प्रतिशत भौतिक प्रगति भएको छ । पुलको जग बसाल्ने, वारिपारिका दुईवटा र बीचको गरी तीनवटा पिलर उठाइसकिएको इञ्जीनियर रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार अबको एक हप्ताभित्र पिलरमाथि क्याब निर्माण गरिनेछ । चालु आर्थिक वर्षभित्रै पुलको मुख्य संरचना निर्माण सक्ने गरी काम अगाडि बढाइएको इञ्जीनियर रिजालले जानकारी दिनुभयो ।

आगामी २०८० चैत २८ गतेभित्र योजना सम्पन्न सम्झौतामा उल्लेख गरिए पनि बेगखोलामा वर्षात्का समयमा सवारीसाधन वारपार गर्न निकै दुःख र सास्ती भोग्नुपरेकाले छिटो पुल निर्माण गर्न कार्यालय जुटेको जनाइएको छ । विसं २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा रहेको बेलिब्रिज र झोलुङ्गे पुलसहित बस्ती नै बाढीले बगाएको थियो ।

खोलामा पक्की पुल नहुँदा म्याग्दीको उत्तरी भेगका स्थानीय र मुस्ताङको भ्रमणमा आउने पर्यटक, तीर्थयात्री र सर्वसाधारणले वर्षात्का समयमा आउने बाढीका कारण विगत छ वर्षदेखि सास्ती भोग्दै आएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button