सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते हुन गइरहेको १७ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु भएको आयोजकले जनाएको छ ।

मञ्चले मङ्गलबार एक पत्रकार सम्मेलनको आयोजना गरी म्याराथनको तयारी सुरु भएको जनाएको हो । म्याराथनको तयारी बारे जानकारी दिदैँ मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले प्रतियोगितामा पहिलो पटक चिपको प्रयोग हुने जानकारी दिए । अध्यक्ष पराजुलीका अनुसार खुला म्याराथन र महिला हाफ म्याराथनतर्फ चिपको प्रयोग हुने उनले बताए । उक्त चिप्स नेपाल रन युकेले सहयोग गर्ने भएको अध्यक्ष पराजुलीले जनाए ।

सिटी म्याराथनको अवधारणामा आयोजना हुँदै आएको नेपालकै जेठो म्याराथन पोखरा म्याराथनमा यस वर्ष पुरस्कार राशिमा समेत वृद्धि गरिएको अध्यक्ष पराजुलीले जानकारी दिएका छन् । म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एसोसियसन अफ इन्टरनेशनल म्याराथन्स एण्ड डिष्टेन्स रेसेस’(एम्स)मा दर्ता भए पछि आयोजना हुन लागेको म्याराथनको खुलातर्फ पहिलो हुनेले ५ लाख, दोश्रोले ३ लाख, तेश्रोले २ लाख र चौथोले नगद रु ३० हजार प्राप्त गर्ने अध्यक्ष पराजुलीले जानकारी दिए ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत ८ वटा इभेन्टहरु एकै पटक एकै दिन हुने जनाइएको छ । जसअन्तर्गत खुला म्याराथन ४२.१९५ किमि, २१.०९७ किमि हाफ म्याराथन महिला, महिला-पुरुष १० किमि दौड, विद्यालयस्तरीय छात्र-छात्रा ५ किमि दौड, महिला-पुरुष ह्विलचेयर तथा दृष्टिविहिन दौड हुनेछन् ।

यसका साथै वर्षको एक दिन रमाइलोका लागि दौडिन पर्छ भन्ने सन्देश दिन ‘रन फर फन’ पनि हुने आयोजकले जनाएको छ । पोखरा म्याराथन अन्तर्गत यो वर्ष एकै पटक २० हजार जनालाई विभिन्न विधामा दौडाउने लक्ष्य लिइएको पनि आयोजकले बताएको छ । खुला म्याराथनतर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्साहन गर्न छुट्टै पुरस्कारको व्यवस्था गरिएको जानकारी दिदैँ अध्यक्ष पराजुलीले महिला हाफ म्याराथनमा समेत पहिलो, दोश्रो, तेश्रो र सान्त्वान हुनेले नगद रु १ लाख ५० हजार, १ लाख, ७५ हजार र १५ हजार प्रदान गरिने जनाए ।

त्यसै गरी ५ किमि महिला तथा पुरुष, ५ किमि छात्र-छात्रा दौड, ह्विलचेयर र दृष्टिविहीन महिला तथा पुरुष दौड सबैको पुरस्कार राशीमा समेत वृद्धि गरिएको मञ्चले जनाएको छ । १७ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७९ लाई व्यवस्थित रुपमा सञ्चालन गर्न २३ वटा विभिन्न उपसमिति गठन गरिएको पनि आयोजकले उल्लेख गरेको छ । पोखरा म्याराथनको कुल खर्च ९३ लाख खर्च हुने आयोजकले जनाएको छ । पुरस्कार राशिमा मात्रै १७ लाख ५२ हजार खर्च हुने आयोजकको भनाई छ ।

प्रतिष्ठित औद्योगिक प्रतिष्ठान लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रालिको मुख्य उत्पादन सफल दुधको मुख्य प्रायोजन रहने पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालय, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद गण्डकीले सहयोग गरेको पनि जनाइएको छ ।

त्यसै गरी पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनरको रुपमा पोखरेली मञ्च युके, बैंकिङ पार्टनरमा कृषि विकास, स्पोर्टस वेयर पार्टनरमा एक्स–टेप, केल्मी रहेका छन् । प्रतियोगितालाई समाजसेवी तथा व्यवसायी पोखरा १६ अर्मला घर भई हाल युके निवासी दुर्गा गुरुङ, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, कुमुदिनी होम्स् मावि, हिमेक्स नेपाल, हिमालयन कम्प्युटर, वुमर्याङ रेष्टुरेन्ट, तमु धि युके, सहारा युके, मुग्लान रेष्टुरेन्ट एण्ड बार, बगर भाई खलक यूके, समाजसेवी जोनी पहारी, पोखरा पर्यटन परिषद् लगायतले पनि सहयोग गर्ने जनाइएको छ ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रबर्द्धकमा नेपाल पर्यटन बोर्ड रहनेछ । पत्रकार सम्मेलनमा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङ, संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटलगायतले पोखरा म्याराथनको विविध पक्षबारे जानकारी गराएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button