पोखरामा विमान दुर्घटना भएको स्थलमा बौद्ध पूजा

पोखरा न्यूज  । गुरुङ तमु लामा बौद्ध समाज नेपालले यती एयरको जहाज दुर्घटना भएको स्थलमा मृत आत्माको शान्तिको कामनासहित दीप प्रज्वलन तथा पूजा पाठ गरेको छ । गुरुङ तमु लामा बौद्ध समाजका अध्यक्ष तथा खेन रिम्पोछे शिर लामा गुरुङको नेतृत्वमा  उक्त पूजा आराधनासहित दीप प्रज्वलन गरिएको हो ।

समाजका अध्यक्ष तथा धर्मगुरु लामाले दुर्घटना भएकै समय पारेर पूजा पाठ गर्दा दिवङ्गत आत्मालाई शान्ति मिल्ने धारणा राखे । ‘आज विमान दुर्घटना भएको एक हप्ता भएको छ’, धर्मगुरु लामाले भने, ‘माघ १ गते १० देखि ११ बजेको समयमा भएको थियो । आज हामी सोही समय पारेर मोन्लम (प्रणिधान) पाठ वाचन गरेका छौँ ।’

उनले एक पटक दुर्घटना भएको स्थानमा पुन : दुर्घटना दोहोरिन सक्ने बताउँदै भने, ‘धेरै विधि, ज्योतिष विज्ञान र तन्त्रले के भन्छ भने, अकल्पनीय दुर्घटना भएको ठाउँमा स्वस्ति शान्ति पूजा गरिएन भने फेरि पनि दुर्घटना दोहोरिन सक्छ भन्ने विश्वास छ, त्यसैले एक पटक दुर्घटना भएको ठाउँमा फेरि नहोस्  भन्ने उद्देश्यसहित यो पूजा गरेका हौ ।’

धर्मगुरु लामाले उक्त दुर्घटनापछि आसपासका बासिन्दामा डर र त्रास सिर्जन भएको बताउँदै स्वस्ति शान्ति पूजा आवश्यक रहेको धारणा राखे । ‘दुर्घटना पछि यहाँ आसपासमा रहनुहुने बासिन्दामा एक खालको डर र त्रास सिर्जना भएको छ, यस पूजापछि मनमा शान्ति मिल्ने हामीले विश्वास लिएका छौँ ।’

उनले अनुकूल तिथि पारेर गरेको पूजा प्रभावकारी हुने बताउँदै आजकै दिनमा पूजा तथा दीप प्रज्वलन गरेको जानकारी दिए । ‘आज पहिलो पुण्य तिथि हो, त्यसैले ग्रन्थमा उल्लेख भएअनुसार अकल्पनीय घटनामा ज्यान गुमाउनेहरूको आत्मा भड्किन सक्ने भएकाले हामीले मृत आत्माको नाममा दीप प्रज्वलन र पूजा गरेका हौँ ।’ उनले भने ।

उक्त दीप प्रज्वलन तथा पूजामा दर्जनौँ बौद्ध लामागुरुहरु, मृतकका आफन्तजनहरू लगायत सयौँको सङ्ख्यामा सहभागिता रहेको थियो । बौद्ध धर्म अनुसार अकल्पनीय दुर्घटना हुने ठाउँमा मृत आत्माको शान्तिको कामनासहित (सियुँ मास्ने) पूजाआजा तथा दीप प्रज्वलन गर्ने प्रचलन रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button