
पोखरा न्यूज । म्याग्दीको मङ्गला गाउँपालिका-२ काफलगौरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
थाइवाङबाट बेनीतर्फ जादै गरेको ग १ ज ६९३८ नं को बोलेरो जिप सोमबार अन्दाजी ११ : ३० बजे काफलचौरको उकालोमा दुर्घटना हुँदा मङ्गला-१ की ६० वर्षीया फौमाया गर्बुजाको मृत्यु भएको हो ।
दुर्घटनामा सात जना घाइते भएको र तीन जनालाई उपचारको लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरी निरीक्षक राजन ढकालका अनुसार घाइते दुई बालिका सहित तीन जनालाई थप उपचारका लागि पोखरा पठाइएको हो । पोखरा रिफर हुनेमा मङ्गला-२का पाँच वर्षीय रिवान केसी, १० वर्षीया सिवानी केसी र ३४ वर्षीया सन्तु केसी रहेका छन् ।
मङ्गला-१ की १५ वर्षीया बबिना परियार र ३८ वर्षीय तेजबहादुर गर्बुजा, मङ्गला-२ की २२ वर्षीया विपना कार्की र ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।