कुलपति रनिङ सिल्ड प्रतियोगिताको सेमिफाइलनमा इन्द्र राज्यलक्ष्मी

पोखरा न्यूज । इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय गण्डकी विश्वविद्यालयको आयोजनामा गरेको कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरामा मंगलबार भएको क्वाटरफाइनल खेलमा छोरेपाटन माध्यमिक विद्यालयलाई ३–० ले पराजित गर्दै राज्यलक्ष्मी सेमिफाइनलमा प्रवेश गरेको हो । राज्यलक्ष्मीको जितमा दिनेश घर्तिमगरले २ र कमल घर्तिमगरले १ गोल गरे । दिनेशले खेलको १२औँ मिनेटमा गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाएका थिए । त्यसको २ मिनेटमै दिनेशले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि पहिलो हाफमा दुवै टिमबाट थप गोल हुन सकेन ।

खेलको दोस्रो हाफ ३९औँ मिनेटमा राज्यलक्ष्मीका कमल घर्तिमगरले गोल गर्दै टिमलाई तेब्बर अग्रता दिलाए । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र राज्यलक्ष्मी ३–० ले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।

सहिद स्मृति आवसिय माध्यमिक विद्यालय, भद्रकाली माध्यमिक विद्यालय र कालिका माध्यमिक विद्यालय प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सहिद स्मृति आवसिय माध्यमिक विद्यालयले विन्ध्यवासिनी माध्यमिक विद्यालयलाई १–० क्वाटरफाइनलमा प्रवेश गरेको हो । सहिद स्मृतिका राजेश विकले खेलको ४९ औँ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए ।

पोखरा आदर्श माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्दै भद्रकाली माध्यमिक विद्यालय क्वाटरफाइनलमा प्रवेश गरेको हो । भद्रकालीका दीपेश गुरुङ र जीवन गुरुङले गोल गरे । दीपेशले खेलको दोस्रो मिनेटमा र जीवनले ५२औँ मिनेटमा गोल गरे ।
कालिका माध्यमिक विद्यालयले प्रतिभा माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । कालिकाका समुन्द्र सुवेदी ५औँ मिनेट समुन्द्र सुवेदीले गोल गर्दा कुशन राई १७औँ मिनेटमा थप एक गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि भने दुवै टिमबाट गोल हुन सकेन र कालिका क्वाटरफाइलनमा प्रवेश गरेको हो ।

सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ ।

यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एक मात्र विश्वविद्यालय हो ।

 

guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्

सम्बन्धित खबर

Back to top button