भारतविरुद्ध शानदार पुनरागमन, जीत हात पार्दै नेपाल फाइनलमा

भारत माथि शानदार पुनरागमन जीत हात पार्दै नेपाली टोली साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

बंगलादेशको राजधानी ढाकामा जारी प्रतियोगिताअन्तर्गत लिगको आफ्नो अन्तिम खेलमा नेपालले भारतलाई ३-१ पराजित गरेको हो । खेलमा भारतले पहिलो हाफको २१ औँ मिनेटमै अग्रता लिएको थियो । अपुर्णाले गरेको गोलसँगै भारतले पहिलो हाफ १-० को अन्तरमा अन्त्य गर्न सफल रह्यो ।

दोस्रो हाफमा भने नेपाली टोली फरक रुपमा प्रस्तुत भयो । दोस्रो हाफ शुरु भएको तेस्रो मिनेटमै नेपालकी अन्जली चन्दले गोल गरिन् । त्यसपछि दिपा शाहीमाथि भारतीय डिफेन्डरले फल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै कप्तान प्रिति राईले नेपाललाई अग्रता दिलाइन् । खेल सकिन एक मिनेट बाँकी हुँदा अमिसा कार्कीले उत्कृष्ट गोल गर्दै टोलीलाई ३-१ को जीत दिलाइन् ।

जीतसँगै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लिग चरणमा ६ अङ्क जोडेको नेपालले अब भारत वा बंगलादेशमध्ये एकसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । भारतको ४ अङ्क छ भने समान अङ्क बटुलेको बङ्लादेशले एक खेल कम खेलेको छ ।

बङ्गलादेश र भुटानबीच आजै हुने अन्तिम लिग खेलले फाइनलमा नेपालसँग खेल्ने टोलीको टुङ्गो लाग्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button